Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेनाको भावी नेतृत्व छनोट अन्योलमा, अर्का उपरथी पनि छानबिनमा

    सेनाको भावी नेतृत्व छनोट अन्योलमा, अर्का उपरथी पनि छानबिनमा

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 57.6K
    SHARES

    काठमाडौं । नेपाली सेनाको भावी नेतृत्व छनोटमा समस्या देखिएको छ । जसकारण रथीका दुईमध्ये एक पद एक महिनादेखि रिक्त छ । उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गरिए पनि उनको जन्म मितिमा कैफियत देखिएपछि आफैँ राजीनामा दिएर बाहिरिएका छन् ।

    उनीपछि बढुवाका दाबेदार बरिष्ठतम् उपरथी अशोक सिग्देल हुन् । उनको पनि दुईथरी जन्म मिति रहेको खुलेपछि हाल आन्तरिक छानबिन भइरहेको छ । सोही कारण सेनाले रिक्त रथी पदमा बढुवाको सिफारिस गर्न सकेको छैन । शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्म मिति १९ माघ २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् ।



    यस्तै दुई थरी जन्ममितिको विवादमा पाण्डेले राजीनामा दिएका छन् । खासमा पाण्डेको जन्ममितिको विवाद उनैले बाहिर ल्याएको स्रोत बताउँछ । पाण्डेलाई पन्छाएर आफू प्रधानसेनापति बन्ने सिग्देलको रणनीति छ । तर, आफूमाथि पनि छानबिन सुरु भएपछि उनी प्रधानसेनापति प्रभुराम शर्मासँग हारगुहार गर्न थालेका छन् भने रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटेर लबिङ गर्न थालेको स्रोत बताउँछ ।



    तर, गम्भीरताका साथ छानबिन गरे उनीमाथि कारबाही हुने अवस्था छ । वास्तविक जन्ममितिअनुसार उपरथी पदबाट उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ । सिग्देलकै चलखेलले नेपाली सेना राजनीतिक हस्तक्षेप बढ्न थालेको छ । ‘जसरी प्रहरी नेतृत्व छान्न चलखेल हुन्छ, त्यस्तै अवस्था सेनामा देखिएको छ,’ एक सैनिक अधिकारी भन्छन्, ‘केही व्यक्तिको महत्वाकांक्षाले सेना बदनाम मात्र होइन, कमजोर समेत भएको छ ।’

    हालका प्रधानसेनापति शर्माले आगामी वर्ष २४ भदौमा अवकाश पाउँदैछन् । सामान्यतया सेनामा एक वर्षअघि नै भावी नेतृत्वलाई अघि बढाइन्छ । तर, अहिले चलखेलले रथी बढुवा प्रभावित हुँदा भावी नेतृत्व छनोटमा राजनीतिकरण हुन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार