Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • धमाधम पक्राउ पर्दै इन्टरपोलबाट नोटिस जारी भएका फरार प्रतिवादी

    धमाधम पक्राउ पर्दै इन्टरपोलबाट नोटिस जारी भएका फरार प्रतिवादी

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ​इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिन भित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे ।

    इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ता भित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो।



    देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीहरूलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानुनी पक्रिया अगाडि बढाउने कामले तिव्रता पाएको छ।



    ​फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेसनल सेन्ट्रल ब्यूरो ९एनसीबी० काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्छ

    सन् १९९१ देखि हालसम्म १ सय ६८ जना विरूद्ध रेड नोटिस, २४ जना विरूद्ध एल्लो नोटिस, १ जना विरूद्ध ब्ल्यू नोटिस, १ जना विरूद्ध ब्ल्याक नोटिस, १ जना विरूद्ध पर्पल नोटिस र १ सय ३ जना विरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।

    तीमध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, १ ब्ल्याक नोटिस, १ पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन्। कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएकामध्ये ५५ जना नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ जना नेपाली नागरिक र डिफ्युजन नोटिस जारी भएकामध्ये ३० जना नेपाली र ५ जना विदेशी नागरिक रहेका छन्।

    ​फरार प्रतिवादीहरूका विरूद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी छ। सो क्रममा सन् २०२४ फेब्रुअरी २ तारिखमा मात्र ६ जना विरूद्ध रेड नोटिस जारी भएको छ। तीमध्ये वैदेशिक रोजगार ठगीमा ४ जना र सहकारी ठगीमा २ जना छन्।

    नोटिस जारी गर्न एनसीबी काठमाडौंले गर्ने अनुरोधका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘सन् १९६७ देखि एनसीबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवं विश्वव्यापी प्रहरी सञ्चार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रहरुसँग समन्वय र सूचना आदान-प्रदान गर्दै आएको छ। सोही सुविधाकै कारण एनसीबी काठमाडौंले विभिन्न नोटिस एवं डिफ्यूजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ।’

    ​नोटिस जारीको साथै विदेशमा फरार रहेका प्रतिवादीहरू इन्टरपोल तथा सम्बन्धित सदस्य राष्ट्रको प्रहरीसँगको समन्वय र सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सक्रिय छ। यस कार्यलाई पछिल्लो समय उच्च प्राथमिकताका साथ तिव्रता दिएको छ।

    हालसम्म यूएईबाट १९ जना, कतारबाट ९ जना, साउदी अरेबियाबाट ३ जना, भारत र कुबेतबाट ३/३ जना, मलेसियारमकाउ र चीनबाट २/२ जना र थाइल्याण्ड, क्यानडा, यूएसए, पोर्चुगल तथा बहराइनबाट १/१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ।

    यसैगरी नोटिस तथा डिफ्युजन जारी भएका ४ जनालाई नेपालमा नै पक्राउ गर्न नेपाल प्रहरी सफल भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमध्ये कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसुर, सुन तस्करी, संगठित अपराध, कीर्ते, लागुऔषध ओसारपसार, साइबर अपराध, वैदेशिक रोजगार ठगी, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायत मुद्दाका फरार प्रतिवादी रहेका छन्। ती प्रतिवादीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने गरिएको छ।

    ​वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस, वारेन्ट जारी नभएका तथा अनुसन्धान कै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन नोटिस, सनाखत नभएका मानव शवको पहिचान गर्नका लागि ब्ल्याक नोटिस, हराएका मानिसहरूको अन्तर्राष्‍ट्रिय स्तरमा खोजी कार्यका लागि एल्लो नोटिस, अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, बिष्‍फोटक प्रदार्थ तथा खतराजन्य अन्य चिजबस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन ओरेन्ज नोटिस, आपराधिक कार्यविधिको बारेमा जानकारी दिन पर्पल नोटिस, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रीन नोटिस तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुने गर्छ।

    फरार प्रतिवादी पक्राउ सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, ‘नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गएपनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले छोड्दैन।’

    सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्रहरू छन्। नेपाल इन्टरपोलको १००औँ सदस्य राष्ट्र हो। हरेक सदस्य राष्‍ट्रमा विश्‍वभरिका सदस्य राष्‍ट्रहरूसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) भनिन्छ।

    नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसीबीको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ। हाल प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार