Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • जिसस प्रमुखले थाले सडकमै आमरण अनशन !

    जिसस प्रमुखले थाले सडकमै आमरण अनशन !

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 387
    SHARES

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम आजदेखि आमरण अनशन बसेका छन्।

    उनले चार किलोमिटर उक्त सडकखण्ड विस्तार सम्झौताको करिव एक महिना बाँकी रहँदा एक तिहाई पनि काम नभएपछि आज दिउँसो २:३० बजेदेखि आमरण अनशन बसेका हुन् ।



    गौतमले सडक विस्तारको काममा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन पाँचखाल र धुलिखेल नगरपालिकाको सीमास्थल खावामा आमरण अनशन सुरु गरेको बताइएको छ । उनले जिल्लास्थित सम्पूर्ण निर्माणाधीन सडकको निर्माण छिटो गर्न माग गर्दै आमरण अनशन बसेको बताए ।



    ‘सम्पूर्ण सरोकारवालाको उपस्थितिमा सडक निर्माण सुरु गरेर सक्ने प्रतिबद्धता नजनाएसम्म आमरण अनशन बस्नेछु’, उनले भने। हाल केही हप्तादेखि उक्त सडक निर्माण ठप्प छ।

    गौतमले यसअघि सडक बिस्तारको काममा निर्माण कम्पनीले ढिलाई गरेपछि पछिल्ला केही महिनादेखि पटकपटक जिल्लास्तरमा सरोकारवालासँग छलफल कार्यक्रम गर्दै आएका थिए। उक्त सडक स्तरोन्नतिसहित बिस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिना अर्थात् आउँदो चैत १९ गते सम्पन्न गर्नेगरी २०७९ जेठ २० गते सम्झौता भएको थियो।

    उक्त सडकखण्ड विस्तारका लागि व्यवसायीसँग रु २० करोड १९ लाख ४६ हजार ५०१ मा सम्झौता गरिएको थियो। सम्झौताको समयावधि नजिकिँदै गर्दा एक तिहाइसमेत काम नसकिएपछि सडक डिभिजन कार्यालयले गत माघ तेस्रो साता ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो।

    कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानत वापतको रकम समेत जफत गर्ने योजना बनाएको छ। साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागत समेत यसै निर्माण कम्पनीबाट असुलउपर गरिने कार्यालयले जनाउँदै आएको छ।

    केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो। उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार