Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डिआइजी बढुवाले प्रहरीको भावी नेतृत्व तय गर्ने, अग्निपरीक्षामा गृहमन्त्री

    डिआइजी बढुवाले प्रहरीको भावी नेतृत्व तय गर्ने, अग्निपरीक्षामा गृहमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 3.4K
    SHARES

    काठमाडौं । एसपी र डिएसपी बढुवामा आलोचित बनेका गृहमन्त्री रवि लामिछानेले एआइजीमा भने वरियताअनुसार नै बढुवा गरेका छन् ।

    एआइजीको पद रिक्त हुनुअघि नै डिआइजीद्वय उमेशराज जोशी र भिम प्रसाद ढकाल बढुवामा सिफारिस भएका हुन् । दुवै जना प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरका ब्याची हुन् ।



    दुवै जना अहिलेका डिआइजीमध्ये सिनियर भएकाले बढुवामा कुनै विवाद भएन । यद्यपी अन्य डिआइजीहरु पनि दौडधुपमा लागेका थिए ।



    एआइजी बढुवासँगै प्रहरीमा डिआइजीमा बढुवाको चर्काचर्की सुरु भइसकेको छ । दुई पद एआइजीमा बढुवाका कारण र एक पद अवकाशका कारण गरी तीन पद तत्काल रिक्त हुँदैछ । डिआइजी विकासराज खनालले बुधबार अवकाश पाउँदैछन् ।

    रिक्त हुने तीन पदमा बढुवाका लागि ३४ एसएसपीबीच प्रतिस्पर्धा छ । जसमा सिनियर टोलीका तीन र जुनियर टोलीका ३१ जना एसएसपी छन् । सिनियरबाट कृष्णहरी शर्मा पोखरेल, भोला रावल र धुव्र राउत छन् ।

    उनीहरु प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरका ब्याची हुन् । सिनियर भएपनि उनीहरु तीनै जना कार्यसम्पादनमा कमजोर मानिन्छन् । त्यसकारण नयाँ टोलीबाट बढुवा गर्नुपर्ने माग प्रहरीमा छ ।

    नयाँ टोलीका एसएसपीहरु भावी आइजिपीका दाबेदार भएकाले यसमा बढुवाका लागि तिव्र प्रतिस्पर्धा छ । विगतमा राजनीतिक आड र चलखेलका आधारमा बढुवा भएकाहरु अगाडि छन् भने इमान्दार र क्षमतावान अधिकृतलाई पछि पारिएको थियो ।

    सो ब्याचबाट गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र अरुण पौडेल वरियतामा अगाडि छन् ।

    उनीहरुमध्ये केही कार्यसम्पादनमा कमजोर त कोही छिट्टै अवकाश पाउनेहरु छन् । वरियताको अगाडि रहेका गणेश चन्द, शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी चारै जना कार्यक्षमतामा कमजो्र मानिन्छन् । शाह, राठौर र चतुर्वेदी राष्ट्रिय अनुसन्धान विभागबाट चलखेल गरेर प्रहरीमा स्थानान्तरण भएका अधिकृत मानिन्छन् ।

    यसअघि कांग्रेसको जोडबालमा दोस्रो नम्बरमा बढुवा भएका शिद्धिबिक्रम विवादास्पद अधिकृत हुन् । रौतहटमा हुँदा लागुऔषध प्रकरणमा कारबाहीमा परेर तानिएका उनी ललितपुरमा हुँदा पनि ललितपुरको गोलीकाण्डमा कारबाहीमा परेर हटाइएका अधिकृत हुन् ।

    यो ब्याचबाट दानबहादुर कार्की र मनोज केसी भुटानी शरणार्थी प्रकरणको अनुसन्धानले चर्चामा आएका अधिकृत हुन् । एसएसपी दिनेश आचार्य नेताको चाकडी नगर्ने भएकाले बढुवामा पछि पर्दै आएका छन् ।

    उनले अहिलेसम्म इन्चार्जसम्म पाएका छैनन् । कार्की, केसी र आचार्य यो ब्याचबाट व्यवसायिक प्रहरीको छवी भएका अधिकृत हुन् ।

    उनीहरुबाहेक गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मादास र शारदाप्रसाद चौधरी सोही ब्याचका भएपनि तत्काल बढुवाको सम्भावना छैन ।

    स्रोतका अनुसार गृहमन्त्री लामिछानेले डिआइजी बढुवाबारे छलफल थालिसकेका छन् । सकेसम्म राम्रा अधिकृतलाई अघि बढाउने उनको योजना छ ।

    तर, अहिलेको बढुवाले प्रहरीको भावी नेतृत्व समेत तय गर्ने भएकाले डिआइजी बढुवामा प्रधानमन्त्रीको समेत हस्तक्षेप हुन सक्ने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार