एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
आक्रमण राजधानी क्वेटामा स्थानीय समय अनुसार आज बिहान ११ः३० बजेको आशपासमा भएको उनको भनाई छ।
आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काए पछि विष्पोट भएको तथा चार आतंककारीहरु भवनमै लडेको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ।
आक्रमण पछि सुरक्षा बलको जबाफी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका लागि लिइएको स्रोतले जनाएको छ।
क्वेट्टामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उदृत गर्दै सिन्ह्वाले मृतकमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको र घाइतेमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी रहेको जनाएको छ।
विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको उनले बताएका छन्। घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको जनाउदै उनले धेरैको अवस्था गम्भीर रहेको उल्लेख गरे।
प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतंककारीहरूलाई कानुन बमोजिम कारवाही गरिने बताए।