एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्र बन्नुमा शनिबार राति भएको भीषण कार बम विस्फोट र त्यसपछिको गोलीबारीमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
आक्रमणकारीहरूले विस्फोटक पदार्थले भरिएको सवारीसाधन प्रहरी चौकीमा ठोक्काएर ठूलो विस्फोट गराएका थिए।
स्थानीय प्रहरी अधिकारीहरूका अनुसार बन्नु जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गर्दै गरिएको आक्रमणपछि सशस्त्र समूहका सदस्यहरू चौकीभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए। घटनामा एक प्रहरी अझै बेपत्ता रहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार आक्रमणकारीहरूले भारी हतियारका साथै साना ड्रोनसमेत प्रयोग गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले फर्किने क्रममा प्रहरीका हतियार र केही कर्मचारीलाई समेत साथ लगेको आशंका गरिएको छ।
पछिल्ला वर्षहरूमा बन्नु क्षेत्र बढ्दो सशस्त्र गतिविधि र हिंसात्मक घटनाबाट प्रभावित बन्दै आएको छ।