Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी विमानबाहक युद्धपोतमाथि इरानको ड्रोन आक्रमण, घेराबन्दीमा परेको तेल ट्याङ्कर जोगियो

अमेरिकी विमानबाहक युद्धपोतमाथि इरानको ड्रोन आक्रमण, घेराबन्दीमा परेको तेल ट्याङ्कर जोगियो

बुधवार , माघ २१, २०८२

काठमाडौं । इरानसँगको तनाव चुलिँदै गइरहेको अवस्थामा अरब सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत ‘अब्राहम लिंकन’लाई लक्ष्य गरेर इरानले ड्रोन हमला गरेको छ।

तर, अमेरिकाले उक्त  ड्रोन हमलालाई विफल तुल्याएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले ठूलो संख्यामा लडाकू विमान र सैनिकसहितको युद्धपोत एक साताअघि हिन्द महासागर हुँदै इरानतर्फ परिचालन गरेको थियो।

उक्त युद्धपोत अरब सागर नजिकै तैनाथ गरिएको अवस्थामा इरानले ड्रोन हमला गरेको हो । युद्धपोत नजिकै पुगेको इरानको शाहेद–१३९ ड्रोनलाई अमेरिकी एफ–३५ लडाकू विमानले खसालेको थियो।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का प्रवक्ता नेभी क्याप्टेन टिम हकिन्सले विमानवाहक र त्यसमा रहेका सैनिकको सुरक्षाका लागि कारबाही गरिएको रोयटर्समा उल्लेख छ । 

घटनामा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको र सैन्य उपकरणमा क्षति नपुगेको अमेरिकी सेनाले जनाएको छ। इरानको संयुक्त राष्ट्रसंघीय मिसनले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

इरानको तस्नीम समाचार एजेन्सीले अन्तर्राष्ट्रिय जलमार्गमा एउटा ड्रोनसँग सम्पर्क टुटेको पुष्टि गरेको तर कारण नखुलाएको भनेर रोयटर्सले लेखेको छ।

अमेरिकाले ड्रोन खसालेको केही घन्टापछि पर्सियन गल्फ र ओमानको खाडी हुँदै अरब सागरमा जोडिने स्ट्रेट अफ होर्मुजमा पनि अर्को तनावपूर्ण घटना भएको छ।

अमेरिकी सेनाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आइआरजिसी)का दुइटा डुंगा र एउटा ड्रोनले अमेरिकी झन्डा बोकेको ‘एमभी स्टेना इम्पेरेटिभ’ तेल ट्याङ्करलाई घेराबन्दी गर्दै नियन्त्रणमा लिन खोजेको पनि रोयटर्सले लेखेको छ।

समुद्री जोखिम व्यवस्थापन समूह भ्यानगार्डका अनुसार इरानी डुंगाहरूले ट्याङ्करलाई इन्जिन बन्द गरी बोर्डिङका लागि तयार हुन आदेश दिएका थिए। तर ट्याङ्करले गति बढाएर यात्रा जारी राखेको थियो। त्यसपछि अमेरिकी नौसेनाको युद्धपोत ‘म्याकफाउल’ ले ट्याङ्करलाई सुरक्षा दिँदै बाहिर निकालेको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी सेनाका अनुसार युद्धपोतको उपस्थितिपछि स्थिति शान्त बनेको र ट्याङ्कर सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ युद्धपोतहरू अघि बढिरहेका बेला परमाणु सम्झौता हुन नसके राम्रो नहुने चेतावनी दिएका थिए। -एजेन्सी

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077