एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा चेतावनी दिएका छन् ।
ट्रम्पले इरानको धार्मिक शासन परिवर्तनबारे दिएको अभिव्यक्तिपछि खामेनीले सामाजिक सञ्जालमार्फत आक्रामक प्रतिक्रिया जनाएका हुन् ।
खामेनीले लेखेका छन्, ‘अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका ४७ वर्षदेखि इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्न असमर्थ रहेको बताए। यो राम्रो स्वीकारोक्ति हो। म भन्छु– तपाईंले हामीलाई ध्वस्त पार्न सक्नुभएन, न त भविष्यमा पार्न सक्नुहुनेछ।’
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार दिएको अभिव्यक्तिमा इरानमा शासन परिवर्तनलाई ‘सबैभन्दा राम्रो विकल्प’ भनेका थिए।
उनले भनेका थिए, ‘इरानमा शासन परिवर्तन सबैभन्दा राम्रो कुरा हो। ४७ वर्षदेखि उनीहरू केवल कुरा गरिरहेका छन्। यसबीच हामीले धेरैको ज्यान गुमाएका छौँ।’
यसैबीच अमेरिकाले इरानलाई आणविक सम्झौतामा ल्याउन दबाब बढाउने रणनीतिअन्तर्गत मध्यपूर्व क्षेत्रमा दोस्रो विमानवाहक युद्धपोत पठाएको छ।