काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई विधिको शासन र कानुनी प्रक्रियाको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत रास्वपा र प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
बास्कोटाले भावनात्मक निर्णयभन्दा कानुनी आधार र तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताए ।
उनले पुर्खाको उखान उद्धृत गर्दै लेखेका छन्, ‘अरूलाई पुर्ने खाल्डो खन्दा आफैँ पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले ।’
उनले सरकारलाई विधिको शासन, कानुनी राज, मानव अधिकार तथा बालबालिका, वृद्धवृद्धा र महिलाप्रतिको नेपाली संस्कारको सम्मान गर्न पनि सुझाएका छन्।
त्यसैगरी, बास्कोटाले छानबिन प्रक्रिया निष्पक्ष र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। ‘घण्ट बजाएर मात्र हुँदैन है। जोमाथि जेमा छानबिन गर्नु छ, गर। तर आग्रह होइन, कानुनी तथ्यहरू स्थापित हुनै पर्छ,’ उनले लेखेका छन् ।