ललितपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो।
कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकमा बादलकै वक्तव्यबारे छलफल हुने जनाइएको छ।
बादलले प्रतिनिधि सभाको चैत १९ गतेको बैठकलाई सम्बोधन गर्दै दिएका अभिव्यक्तिहरूले विवादलाई थप उकास्दा आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको थियो।
एमाले संसदीय दलका नेता समेत रहेका बादलले बैठकमा नेपाली सेना, कर्मचारीतन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको भुमिका रास्वपा सरकार बनेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर एमालेमा विवाद उत्पन्न भएको छ।
संसदमा उनको अभिव्यक्तिबारे उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् ।
यता एमालेमा नेतृत्व परिवर्तनको मागलाई लिएर युवा सदस्यहरूको सक्रियता बढेको छ। युवाहरूले नेतृत्व चयन प्रक्रियामा आफूहरूको आवाज सुनाउने उद्देश्यले पार्टी मुख्यालय च्यासलमा आज पनि प्रदर्शन जारी राखेका छन्।
प्रदर्शनमा रहेका युवाहरूले पार्टी कमिटी विघटन गरेर नयाँ संरचनामा जान सुझाव दिएका छन् ।