काठमाडौं । इन्टरपोलले जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमणमा परेर उपचारका लागि विदेश गएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका देउवा दम्पत्तिविरुद्ध आवश्यक सर्तहरू नपुगेकोप्रति प्रश्न उठाउँदै इन्टरपोलले रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले अनलाइन नेपाललाई बतायो ।
इन्टरपोलले देउवा दम्पतीविरुद्ध सम्बद्ध कसुर नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाउँदा रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको जनाएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा देउवा दम्पती उपचारका क्रममा विदेशमै भएको बेला जिल्ला अदालत काठमाडौंले २०८२ चैत २४ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो ।
तर, इन्टरपोलले राजनीतिक मुद्दा भएको र आवश्यक सर्तहरु नपुगेको भन्दै ठाडै इन्कार गरेको छ । देउवा दम्पती हाल हङकङमा रहेको बताइएको छ । यद्यपी यसबारे औपचारिक जानकारी भने आएको छैन ।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमणमा परेका दुवैजनालाई सेनाको सहयोगमा उद्धार गरी अस्पताल लगिएको थियो ।
त्यसलगत्तै उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनीहरू देशबाहिर रहेकै बेला सरकारले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको लागि भन्दै पक्राउ पुर्जी जारी गरेको थियो ।