एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा जारी संकट समाधानतर्फ सकारात्मक प्रगति हुने दाबी गरेका छन् । एबीसी न्यूजसँग ट्रम्पले सो दाबी गरेका हुन् ।
उनले युद्धविरामलाई दीर्घकालीन बनाउने तथा रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गबाट जहाजहरूको आवतजावत पुनः सुचारु गर्ने उद्देश्यका साथ इरानसँग आगामी हप्ताभित्र सम्झौता हुनसक्ने बताए ।
ट्रम्पले उक्त महत्वपूर्ण समुद्री मार्ग खुलाउने उद्देश्यले तयार पारिएको समझदारीपत्रमा आफूले अझै अन्तिम स्वीकृति नदिएको स्पष्ट पारे । उनले भने, 'मैले अझै केही विषयहरू टुंग्याउन बाँकी छ ।'
सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत थप जानकारी दिँदै उनले लेखेका छन्, 'इरानसँगको वार्ता तीव्र गतिमा अगाडि बढिरहेको छ ।'
यद्यपि, पछिल्ला सैन्य मुठभेडहरूले युद्धविराम भंग हुनसक्ने तथा जारी कूटनीतिक प्रयासहरू अवरुद्ध हुन सक्ने चिन्ता बढाएको बताइएको छ ।