काठमाडौं । फिफा विश्वकपको तेस्रो स्थानका लागि भएको अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको तेस्रो स्थान कब्जा गरेको छ ।
खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको इंग्ल्यान्डले पहिलो हाफमै ४–० को सानदार अग्रता बनाएको थियो। खेलको तेस्रो मिनेटमै डेक्लन राइसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले दोस्रो गोल थपे भने बुकायो साकाले ३०औँ मिनेटमा गोल गर्दै इंग्ल्यान्डको अग्रता फराकिलो बनाए।
दोस्रो हाफमा पनि साकाले आफ्नो उत्कृष्ट लय कायम राख्दै ४७औँ र ८५औँ मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे।
फ्रान्सले भने हार नमान्दै लगातार पुनरागमनको प्रयास गर्यो। कप्तान किलियन एम्बाप्पेले ४७औँ र ६६औँ मिनेटमा दुई गोल गरे। ब्राड्ली ब्रोकोलाले ५३औँ मिनेटमा गोल थपे भने इन्जुरी समयमा उसमान डेम्बेलेले ९५औँ मिनेटमा गोल गर्दै खेललाई ५–४ को अवस्थामा पुर्याए।
तर इन्जुरी समयकै ९७औँ मिनेटमा जुड बेलिङ्घमले निर्णायक गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे। त्यससँगै इंग्ल्यान्डले ६–४ को शानदार जित निकाल्दै विश्वकपको तेस्रो स्थान आफ्नो नाममा लेखायो।
यता, फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे जारी विश्वकपका सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्याउँदै गोल्डेन बुटको दौडमा अग्रता कायम राखेका छन् ।