Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • खोपको प्राथमिकतामा कूटनीतिक कर्मचारी र पत्रकार

    खोपको प्राथमिकतामा कूटनीतिक कर्मचारी र पत्रकार

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । सरकारले दोस्रो चरणमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । पहिलो चरणको खोप लगाइसकेपछि जोखिमका आधारमा सूची तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । माघ १४ देखि शनिबारसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।

    काठमाडौंको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्र्रो चरणको खोप लगाइने शनिबार निर्णय भएको मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ । उनीहरूलाई सोमबारदेखि शुक्रबारसम्म खोप लगाइसक्ने मन्त्रालयले निर्णय गरेको छ ।



    खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जोखिममा रहेर जनतालाई सुसूचित गराउन खटिने सबै पत्रकारले खोप पाउने बताए । ‘कुनै पनि बहानामा पत्रकार साथीहरू खोप लिनबाट वञ्चित नहुने व्यवस्था मिलाइनेछ,’ उनले भने । पत्रकार महासंघबाट १३ हजार ५ सयले सदस्यता लिएका छन् । सञ्चार मन्त्रालयका सञ्चारविज्ञ राजेन्द्र मानन्धरले उक्त सूचीअनुसार खोप लगाउने व्यवस्था गरिदिन भन्दै शुक्रबार नै स्वास्थ्य सेवा विभागको खोप शाखामा सम्पूर्ण विवरण पठाइसकेको जानकारी दिए । त्यस्तै यूएन एजेन्सी, दूतावास र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई सम्बन्धित संस्थाको परिचयपत्र र आश्रितको हकमा सम्बन्धित संस्थाको सिफारिस आवश्यक पर्नेछ ।



    पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स/शववाहन चालक, महिला स्वास्थ्य स्वंसेविका, सरसफाइकर्मी, जेलका कैदी, वृद्धाश्रममा बस्ने र उनीहरूको स्याहारमा खटिने, त्रिभुवन विमानस्थलका कर्मचारीलाई खोप दिइएको थियो । सरकारले ४ लाख ३० हजारलाई खोप दिने घोषणा गरेको थियो । ‘हामीले स्वास्थ्यसम्बन्धी विभिन्न परिषद्बाट लिएको तथ्यांकका आधारमा खोप दिने व्यक्तिको संख्या सार्वजनिक गरेका थियौं,’ प्रवक्ता डा. गौतमले भने, ‘यसमा केहीको मृत्यु भइसकेको हुन्छ । केही विदेशमा छन् । केहीले पेसा छाडेका छन् । केही गर्भवती हुन सक्छन् ।’ कार्यरतमध्ये ८० प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाएको उनले बताए ।

    पहिलो चरणको खोप कार्यक्रममा प्रदेश १ मा २४ हजार २ सय २४, प्रदेश २ मा २५ हजार ६ सय ३७, वाग्मतीमा ६३ हजार ३ सय ८ जना सहभागी भएका थिए । गण्डकीमा १८ हजार ४ सय ७२, लुम्बिनीमा २८ हजार ९ सय ४१, कर्णालीमा ९ हजार ४ सय २० र सुदूरपश्चिममा १४ हजार ८ सय ५५ जनाले खोप लगाएका छन् । कैदीबन्दीमध्ये करिब ६० प्रतिशतले खोप लगाएको प्रवक्ता डा. गौतमले बताए । पहिलो चरणमा खोप लगाउनुपर्ने सूचीमा परेका तर खोप नलगाएकालाई अब उमेर समूहअनुसार दिइने खोपमा समावेश गरिने उनले बताए । भारत सरकारले १० लाख खोप अनुदानमा उपलब्ध गराएको थियो । यसमध्ये पहिलो चरणमा खोप लगाएर पनि ८ लाखभन्दा बढी डोज बाँकी छ । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार