Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कथा साहसिक महिलाको : जो तालिबानको कठोर बन्धन तोड्दै केटीहरुलाई पढाइरहेकी छिन्

    कथा साहसिक महिलाको : जो तालिबानको कठोर बन्धन तोड्दै केटीहरुलाई पढाइरहेकी छिन्

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । १५ अगस्ट २०२१ मा जब तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिए तब उनीहरुले महिला र केटीहरूलाई घरभित्रै बस्न भने। केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाइयो।

    अफगानिस्तान बाहिर बस्दै आएकी अफगान मूलकी महिला एन्जेला गयुरले केटीहरूको पढाइ अलमलमा परेको देखेर यसबारे केही गर्नुपर्छ भन्ने सोचिन्।



    अहिले उनको अनलाइन स्कूलमा एक हजार भन्दा बढी केटीहरू छन् भने ४ सयभन्दा बढी स्वयंसेवक शिक्षकहरू छन्।



    सन् १९९२ मा अफगानिस्तान गृहयुद्धमा फसेको बेला एन्जेला आठ वर्षकी थिइन्। देशको पश्चिमी सहर हेरातमा बस्दै आएको उनको परिवार शरण लिन इरान पुगेको थियो। एन्जेला अर्को पाँच वर्ष स्कूल जान सकिनन्। परिवारको अस्थायी भिसाका कारण उनी स्कूल जान योग्य थिइनन्।

    अहिले एन्जेला बेलायतको ब्राइटनमा बस्छिन्। समुद्रतर्फ फर्किएको आफ्नो झ्यालबाट बाहिर हेर्दै उनी भन्छिन्, ‘त्यतिबेला अफगानिस्तानबाट भागेर इरान पुगेका केटाकेटीसँग कागजपत्र नभएका कारण विद्यालय जान पाउने अवसर थिएन।’

    इरान आइपुगेको पाँच वर्षपछि उनका बुबाले कागजातहरू बनाउन सके र उनी विद्यालय जान सकिन्। उनका लागि शिक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा थियो र छ। उनी त्यसबेला देखि नै विद्यालयबाट फर्केपछि हरेक दिन अन्य १४ जना अफगानी बालबालिकालाई पढाउँथिन्। जो बालबालिका पनि उनीहरुजस्तै विद्यालय जान पाएका थिएनन्।

    एन्जेलाका बुबा इरानमा माली थिए र बगैंचाको हेरचाह गर्थे। उनी त्यहाँ बालबालिकाका लागि कक्षा सञ्चालन गर्थिन्। पढ्ने, लेख्ने, बोल्ने, विद्यालयमा जे पनि सिकिन्, त्यो घरमा आएर बालबालिकालाई सिकाउने गर्थिन्।

    वर्षौंपछि जब तालिबानलाई सत्ताबाट हटाइयो, एन्जेला अफगानिस्तान फर्किन् र माध्यमिक विद्यालय शिक्षकका लागि लिइएको परीक्षा पास गरिन्। उनी पछि नेदरल्याण्ड्स गइन् र अन्ततः बेलायत पुगिन्।

    केही महिनाअघि बीस वर्षको युद्धपछि अमेरिकाले आफ्ना सेना फिर्ता ग¥यो र चाँडै अफगानिस्तान तालिवानको नियन्त्रणमा आयो।

    विगतका बीस वर्षमा बालिका तथा महिला शिक्षामा जति प्रगति भएको छ, त्यो खतरामा परेको छ। तालिबानले महिलालाई काम गर्न र केटीहरूलाई विद्यालय जानमा लगाइएको प्रतिबन्ध अस्थायी भएको र सबै कार्यस्थल, अध्ययन गर्ने ठाउँहरू उनीहरूका लागि सुरक्षित रहेको दाबी गरेको छ।

    तर, पाँच वर्षसम्म आफू स्कुल जान नपाएझैं अरु धेरै केटीहरू पनि यसरी जान नपाउने कुरा सोच्दा एन्जेलालाई दिक्क लाग्यो। तालिबानले अफगानिस्तानमा नियन्त्रण लिएको तीन महिना बितिसक्दा पनि प्रतिबन्ध खुकुलो हुने कुनै संकेत दिएको छैन। यस्तो अवस्थामा एन्जेलालाई अब केही गर्नुपर्छ भन्ने लागेको थियो।

    एन्जेलाले अनलाइन हेरात स्कूल स्थापना गरिन्। यो अफगानिस्तानका केटीहरू र महिलाहरूको लागि अनलाइन शिक्षाको लागि एक प्लेटफर्म हो। इन्स्टाग्राममा पोष्ट गर्दै उनले अनुभवी शिक्षकहरुलाई जसरी पनि सहयोग गर्न अपिल गरिन्।

    उनको पहिलो पोस्टदेखि हालसम्म चार सय स्वयंसेवक उनीसँग जोडिएका छन्। तिनीहरूले टेलिग्राम, स्काइप र अन्य प्लेटफर्महरू मार्फत १७० अलग अलग अनलाइन कक्षाहरू लिन्छन्। यसमा गणितदेखि संगीतसम्म पढाइन्छ। एन्जेलासँग जोडिएका अधिकांश शिक्षकहरू इरानका हुन्, जसले दुईदेखि आठ घण्टा पढाउँछन्।

    एन्जेला भन्छिन्, “मलाई लाग्छ कि यो विद्यालय मेरो पीडा र अनुभवको नतिजा हो। हामी बन्दुकलाई कलमले प्रतिस्थापन गर्ने लक्ष्य राख्छौं।’’

    एन्जेलाको स्कूल स्वयंसेवकहरूले करिब एक हजार केटीहरूलाई पढाउँछन्। काबुलकी १३ वर्षीया नसरीन र उनका चार बहिनीहरू पनि यसमा सामेल छन्।

    तालिबान सत्तामा आएपछि र सात वर्षभन्दा माथिका केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएपछि यी दिदीबहिनीहरू शिक्षाबाट बञ्चित भएका छन्।

    यी सबै दिदीबहिनीले घरमै बसेर पढाइलाई निरन्तरता दिन हरसम्भव प्रयास गरिरहेका छन् तर दुई ठूला दिदिबहिनीलाई जो विश्वविद्यालयमा इन्जिनियरिङ र मेडिसिन पढ्दै आएका थिए, उनीहरुलाई निकै गाह्रो भएको छ।

    नसरीनले एक अन्तर्वार्तामा भनिन्, “मेरा सारा सपनाहरू चकनाचुर भएका छन्। स्कुल खोल्दा पनि अवस्था पहिलेको जस्तो हुनेछैन। म पाइलट बन्न चाहन्थेँ तर अब त्यस्तो कहिल्यै हुने छैन किनभने तालिबानले केटीलाई पाइलट बन्न दिने छैन।’’

    तर अब एन्जेलाको अनलाइन स्कूलबाट छात्राहरुलाई लागि केही आशा छ। नसरीन अहिले स्वयंसेवक शिक्षकको सहयोगमा टर्की भाषा सिक्दै छिन्। उनी इस्तानबुलमा बस्न चाहन्छिन्। यो अनलाइन शिक्षाले उनको सपनालाई फेरि जीवित बनाएको छ।

    पछिल्लो समय देशको उत्तरी भागका युवतीहरूले केही सकारात्मक समाचार प्राप्त गरेका छन्। देशका ३४ प्रदेशमध्ये पाँच प्रदेशमा छोरीहरूलाई माध्यमिक विद्यालयमा भर्ना गर्न दिइएको छ।

    निजी विश्वविद्यालयमा अध्ययनरत केटीहरूलाई पनि कक्षामा जान अनुमति दिइएको छ तर सरकारी विश्वविद्यालयमा भने अझै प्रतिबन्ध छ। काबुलकी नसरीन र उनका बहिनीहरू र उनीहरू जस्ता लाखौं अफगान छात्राहरूका लागि विद्यालयहरू अझै पूर्ण रूपमा बन्द छन्।

    नसरीनको आमा शिक्षिका हुन् र उनीजस्ता महिलालाई पनि काममा नआउन भनिएको छ। तालिबानले उनीहरू जस्ता शिक्षकहरू कहिले काममा फर्कन पाउनेछन् भनेर केही जानकारी दिएको छैन।

    संयुक्त राष्ट्रसंघको अनुमान अनुसार काबुलका सबै प्रशिक्षित शिक्षकमध्ये ७० प्रतिशत महिला छन्। यस्तो अवस्थामा पुरुषका लागि विद्यालय खुले पनि उनीहरूका लागि पनि शिक्षकको अभाव हुनेछ।

    तालिबान सत्तामा आउनुअघि अफगानिस्तान शिक्षामा पछाडि परेको थियो। शिक्षा मन्त्रालयका अनुसार सन् २०१९ मा देशमा १५ वर्षभन्दा माथिका एक तिहाइ जनसंख्या निरक्षर थिए। अहिले धेरै केटीहरु घरमै थुनिएका छन्। यस्तो अवस्थामा अफगानिस्तानको शिक्षाको तथ्याङ्क अझ खस्किने अनुमान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार