Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले महाधिवेशनः पूर्व-पश्चिम राजमार्ग पूरै ठप्प, बुटवलबाट काठमाडौँ जाँदा पोखरा पुग्नुपर्ने

    एमाले महाधिवेशनः पूर्व-पश्चिम राजमार्ग पूरै ठप्प, बुटवलबाट काठमाडौँ जाँदा पोखरा पुग्नुपर्ने

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।



    विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मनमाया भट्टराई पङ्गेनीले बताइन्।



    साँघुरो र उकालो-ओरोलो सडक रहेको दाउन्नेमा मालबहाक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाएको सीडीओ पङ्गेनीले बताइन् ।

    सो खण्डमा जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै चितवन जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ ।

    ‘दाउन्ने सडकको अवस्थाका कारण मालबहाक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ’ सीडीओ पङ्गेनीले भनिन्, ‘बुटवल हुँदै काठमाडौँ जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।’

    अन्य निजी गाडीलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको सीडीओ पङ्गेनीले बताइन् । पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइने छ ।

    आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना)का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको सीडीओ पङ्गेनीले बताइन् ।

    एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी किनारमा भोलि शुक्रबार हुँदैछ । उद्घाटन कार्यक्रममा एमालेले ५ लाख मानिस उतार्ने गरी तयारी भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार