Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सिभिल सहकारी ठगी प्रकरण : वार्षिक १ करोड तलब लिन्थे इच्छाराज तामाङ

    सिभिल सहकारी ठगी प्रकरण : वार्षिक १ करोड तलब लिन्थे इच्छाराज तामाङ

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । वचतकर्ताको ५ अर्ब ६७ करोड रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएका सिभिल ग्रुपका सञ्चालक तथा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ अझैपनि एकले अर्कोलाई दोष थोपरेर उम्कन खोजिरहेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी आरोपमा पक्राउ गरी अनुसन्धान गरेको सिभिल ग्रुपका अध्यक्ष तामाङसहित सिभिल सहकारीका कर्मचारीहरुविरुद्ध अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेकोे छ ।



    सीआईबीको अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले शुक्रबार तामाङसहित ४२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा २८४ पृष्ठ लामो अभियोगपत्र दायर गरेको हो ।



    सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको अध्यक्ष रहेका तामाङबाट निक्षेपकर्ताहरुलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा मागदावी गरिएको छ ।

    ठगी मुद्दामा गत असोज १९ गते सीआईबीले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।

    तर, तामाङ भने बचतकर्ता सदस्यलाई रकम फिर्ता गर्ने दायित्व आफ्नो नभएको बयान दिएर उम्किन खोजिरहेका छन् ।

    तामाङले दिएको बयानमा भनेका छन्–‘म संस्थाको स्थापनाकालदेखि २०६७ सम्म सञ्चालक समितको अध्यक्ष भएको हो । त्यसपछि २०७३ सालसम्म संस्थापक सल्लाहकारका रूपमा काम गरेको हो । २०६७ सालदेखि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ छन् । संस्थामा सदस्य बचतकर्ताहरूले बचत गरेको रकम बचतकर्ता सदस्यहरूलाई फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन, संस्थाको हो ।’

    तामाङले बचतकर्ताहरुले संस्थामा बचत गरेको रकम फिर्ता गर्ने दायित्व आफ्नो व्यक्तिगत नभई संस्थाको भएको बताइरहँदा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले भने संस्थामा आफू नाम मात्रको अध्यक्ष रहेको बताएका छन् ।

    सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा श्रेष्ठले भनेका छन्–‘म सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको २०६७ साल देखि हालसम्मको अध्यक्ष हुँ । आर्थिक कारोबार इच्छाराज तामाङले हेर्नुहुन्छ भने प्राविधिक कार्य मात्र मैले हेर्ने गरेको छु । मिति २०६७ सालमा निज इच्छाराज तामाङ सिभिल बैकको सञ्चालक समितिको अध्यक्ष भएको कारण सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको समेत अध्यक्षको रूपमा कार्यरत रहन नमिल्ने भएको हुँदा संस्थाको दशौं साधारण सभाबाट मलाई अध्यक्षको रूपमा नियुक्त गरेको थियो । म सिभिल सहकारीमा नाम मात्रको अध्यक्षको रूपमा बसेको हुँ ।’

    श्रेष्ठले सम्पूर्ण निर्णय र व्यवस्थापन इच्छाराज तामाङले गर्ने गरेका पनि बताएका छन् । उनले भनेका छन्–‘सहकारीबाट भुक्तानी हुने चेकहरूमा मेरो सही अनिवार्य चाहिन्छ भने हालका लेखा अधिकृत राकेश महर्जन र नायव महाप्रबन्धक रञ्जना महर्जनमध्ये १ जनाको सही भएपछि चेकहरू भुक्तानी हुने गरेको थियो । कहिले काहीँ काममा व्यस्त भएको भएको समयमा सहकारीको खाली चेकहरूमा हस्ताक्षर गरी दिने गरेको थिए ।’

    ‘सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले सिभिल ग्रुप अन्तर्गतको सिभिल होम्स समेतका कम्पनीलाई कर्जा प्रवाह गर्ने निर्णय उक्त सहकारीको पुर्व अध्यक्ष तथा विशेष सल्लाहकार इच्छाराज तामाङको सहमति अनुसार सञ्चालक समितिको विभिन्न मितिको निर्णयबाट भएको हो । इच्छाराज तामाङ र म शेयर सदस्य रहने गरी सिभिल होम्स समेत गरेर १८ वटा कम्पनीहरू छन् । जसमध्ये केही कम्पनीहरू बन्द अवस्थामा रहेका छन् । सिभिल होम्सको नाममा सुनधारा चाईनाटाउनमा रहेको ६ रोपनीमा रहेको ११ तल्ले भवन १ वर्ष अगाडी अजयराज सुमार्गीको कम्पनी मुक्ति श्री हस्पिटालिटीलाई १ अर्ब २५ करोडमा बिक्री गरेका हौ । सो जग्गा बिक्री गरेर आएको के कति रकम निज इच्छाराज तामाङले सहकारीमा जम्मा गरे मलाई थाहा भएन ।’ उनले बयानमा भनेका छन् ।

    सिभिल सहकारीमा मिति २०७५ साल देखिनै साधारण सभा हुन नसकेको बताएका उनले अडिट रिपोर्ट समेत पास हुन नसकेको बताए । विगत ३ वर्ष अगाडिदेखि सहकारीमा कुनै पनि बचत रकम नआएको र नयाँ लगानी पनि नभएको उनले दावी गरेका छन् ।

    श्रेष्ठले बयानमा इच्छाराज तामाङले सहकारीबाट बैठक भत्ता बाहेक मासिक पाँच लाख तथा सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीहरूबाट समेत मासिक तीन लाख पारिश्रमिक लिने गरेको पनि बताएका छन् । तर, आफूले भने सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीहरूबाट जम्मा मासिक दुई लाख पारिश्रमिक लिने गरेको बयान दिएका छन् । श्रेष्ठको बयानलाई नै आधार मान्ने हो भने पनि बैठक भत्तासमेत गरी तामाङको वार्षिक परिश्रमीक एक करोड बढी हुने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार