Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मलेसियामा कामदार पठाउन सिन्डिकेट, २ अर्बको चलखेलमा मुछिए श्रममन्त्री श्रेष्ठ

    मलेसियामा कामदार पठाउन सिन्डिकेट, २ अर्बको चलखेलमा मुछिए श्रममन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 6.1K
    SHARES

    काठमाडौं । बायोमेट्रिक प्रणालीका नाममा स्वास्थ्य परीक्षणमा सिन्डिकेट लागू गराएर अर्बौं आर्थिक चलखेल गरेका कैलाश खड्का फेरि अर्को सिन्डिकेट लागू गराउने खेलमा लागेका छन् । बंगलादेशी मूलका मलेसियन नागरिक अमिनसँग मिलेर खड्काले मलेसिया कामदार पठाउन २५ वटा म्यानपावरको सिन्डिकेट बनाउने खेल रचिरहेका छन् । त्यसका लागि खड्काले प्रधानमन्त्री पत्नी आरजु राणादेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ सम्मलाई सेटिङ मिलाइसकेको बताउन थालिसकेका छन् ।

    म्यानपावर बर्गिकरणको नाममा सिन्डिकेट लागू गराउने चलखेल शुरु भएको भन्दै व्यवसायीहरुले भने आन्दोनलमा उत्रिने चेतावनी दिइसकेका छन् । मलेसियामा बार्षिक १ लाखदेखि २ लाखसम्म नेपाली कामदारको माग छ । न्यूनतम १ लाख ५० हजार कामदारबाट प्रतिब्यक्ति २ लाखका दरले म्यानपावरहरुले शुल्क लिंदा पनि ३० अर्ब रुपैयाँ हुन आउँछ ।



    ३० अर्बको कारोबार गर्न २५ वटामात्र म्यानपावरको सिन्डिकेट बनाउँदा एउटा म्यानपावरको भागमा १२ करोड रुपैयाँ बार्षिक आम्दानी हुने देखिन्छ । त्यसैले खड्का र अमिन शाम, दाम, दण्ड, भेद जे सुकै गरेर भए पनि उक्त निर्णय लागू गराउन शक्तिकेन्द्रहरुमा धाइरहेका छन् । उनै अमिनले २५ वटा म्यानपावरलाई मात्र सिन्डिकेट लागू गराउने निर्णय गरेमा एकमुष्ट २ अर्बसम्म घुस शक्तिकेन्द्रमा बुझाउन समेत तयार रहेको सन्देश खड्कामार्फत् दिएकाे स्राेत बताउँछ ।



    खड्का अहिले सिन्डिकेटका लागि प्रधानमन्त्री पत्नी आरजु राणासँग कुरा मिलाइसकेको भन्दै म्यानपावरहरुसँग रकम असुलीमा लागेकाे एक म्यानपावर व्यवसायीले बताए । यसअघि बायोमेट्रिक स्वास्थ्य प्रणालीका नाममा ३९ वटा स्वास्थ्य संस्थालाई मात्र अनुमति दिलाउन पनि उनले आरजु राणाकै नाम लिने गरेका थिए । बायोमेट्रिक स्वास्थ्य प्रणालीका कारण बार्षिक ५ अर्ब ठगी गरेको आरोपमा प्रहरीले कतिपय ब्यवसायीलाई पक्राउ गर्दा मुख्य नाइके कैलाश पक्राउ परेका थिएनन् । उनलाई आरजु देउवाले संरक्षण गरेको आरोप लागेको थियो ।

    बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट बनाएर बार्षिक ५ अर्ब मलेसिया लान सफल भएका अमिनले अहिले खड्कामार्फत कामदार आपूर्तिमा सिन्डिकेट लगाई बार्षिक अर्बौं लाभ लिन खोजिरहेका छन् । श्रममन्त्री श्रेष्ठ आफू प्रत्यक्ष रुपमा सिन्डिकेटको पक्षमा नदेखिए पनि उनले यसका लागि सचिव एकनारायण अर्याललाई अगाडि सारेका छन् । श्रममन्त्री श्रेष्ठले केही म्यानपावर व्यवसायीहरुसँग भित्रभित्रै मोलमोलाई गरिरहेको पनि बुझिएको छ ।

    खड्काकै डिजाइनमा अर्याललाई श्रम मन्त्रालयमा सरुवा गरिएको स्रोतको दावी छ । खड्का अहिले श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालसँग दिन दिनै वार्तामा बस्ने गरेको स्रोतको दावी छ । सचिव अर्यालसँग कैलाश खड्काको सम्बन्ध तत्कालीन काठमाडौं जिल्लाको सीडीओ हुँदादेखिकै हो । ठगी आरोपमा २०७५ जेठमा फरार भएका उनलाई अर्यालले नै पक्राउ गर्नबाट जोगाई उन्मुक्ति दिने काम गरेका थिए ।

    एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठनका अध्यक्ष सन्तकुमार लामासहितका पदाधिकारीले मलेसिया कामदार पठाउन २५ वटा म्यानपावरको सिन्डिकेटलाई मात्र दिन खोजिएको बारेमा गत बिहीबार नै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराइसकेका छन् ।  तर, अर्बौंको चलखेलमा मुछिएका मन्त्री श्रेष्ठ नै सिन्डिकेटलाई प्राथमिकता दिन लागेकाे हुन् । सानोतिनो पैसामा आँखा नलगाएका मन्त्री श्रेष्ठलाई  मलेसिया रोजगारीमा सिन्डिकेट लगाए दुर्भाग्यपूर्ण हुने चेतावनी ब्यवसायीहरुले दिएका छन् ।

    स्रोतका अनुसार मन्त्री श्रेष्ठले ब्यवसायी र मिडियासँग चर्को बिरोध गरेजस्तो गरे पनि भित्रभित्रै उनले नै  बिचौलियाहरुलाई पाेस्ने काम गरेका छन्र ।

    को हुन अमिन ?

    अमिन बंगलादेशी मूलका मलेसियन हुन् । बंगलादेशमा अपराधिक गतिबिधि गरेपछि मलेसिया पलायन भएका हुन् अमिन । त्यहाँका पूर्व उपप्रधान एवम् गृहमन्त्री अहमद जाहिद हमिदीका भतिजीसँग विवाह गरेका अमिनले बंगलादेशका मन्त्री र कर्मचारीलाई प्रभावमा पारी ३० वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउनेगरी सिन्डिकेट गरेका थिए । सिन्डिकेट लागू गराएर कुस्त लाभ लिएका उनी नेपालमा पनि त्यही गर्ने खेलमा छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट बनाएर बार्षिक ५ अर्ब मलेसिया लान सफल भएका उनले अहिले कामदार आपूर्तिमा सिन्डिकेट लगाई बार्षिक अर्बौं लाभ लिने दाउमा छन् ।

    अमिन जे जस्ता हर्कत पनि गर्नसक्छन् भन्ने दृष्टान्त मलेसियामा नेपाली कामदारलाई रोक लगाएको बेला उनले नेपाली पासपोर्टमा बंगालीलाई पठाउने काम समेत गरेका थिए । परराष्ट्रमन्त्री सुजाता कोइराला भएको समयमा उनका ज्वाई रुबेल चौधरीमार्फत् हजारौ बंगालीलाई नेपाली पासपोर्टमा मलेसियामा कामदारका रुपमा पठाएको आरोप अमिनमाथि छ । रुबेल चौधरी पनि बंगलादेशी नै भएकाले उनीमार्फत् सेटिङ गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू नहुँदैका पासपोर्ट बंगलादेशीलाई दिइएको थियो । मलेसियामा बंगालीको मृत्यु भए पनि पासपोर्ट नेपाली भएकाले सब भने नेपाल आएको घटना पनि छन् ।

    को हुन् कैलाश खड्का  ?

    टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य ब्यवसायीबाट मलेसियाको सरकारका मन्त्रीलाई घुस दिनुपर्छ भनी बीसौं करोड रुपैयाँ उठाएको आरोप खड्कामाथि लाग्ने गरेको छ । बायोमेट्रिक स्वास्थ्य परीक्षण सुरु भइसकेपछि पनि उनमाथि ३६ संस्थाबाट मासिक दररेट तोकेर शक्तिकेन्द्रलाई बुझाउने नाममा असुलेको आरोप छ । उनले बुढानीलकन्ठ(आरजु देउवा), खुमलटार (प्रचण्ड) र बालकोट(ओली) लाई बुझाउन भनेर रकम लिने तर त्यो कतै पनि नबुझाई आफैंले लिएको एक ब्यवसायीले बताए । ती ब्यवसायीले भने–बुढानीलकन्ठ, खुमलटार र बालकोट मिलाउनुपर्छ भन्दै रेट तोकेका थिए ।

    ३६ वटै स्वास्थ्य ब्यवसायीले बुझाउनुपथ्र्यो । ३६ स्वास्थ्य ब्यवसायीबाट मासिक २ करोड रुपैयाँको हाराहारी रकम शक्तिकेन्द्रमा बुझाउने भन्दै उठाएको आरोप उनीमाथि छ । तर, २ बर्षसम्म उठाएको त्यो रकम उनले ती शक्तिकेन्द्रमा नबुझाई आफैंले राखेको कुरा उनको अरब हाराहारीको अहिलेको सम्पत्तिले पुष्टि गरेको छ । उनले हालै लाजिम्पाटस्थित शिशु अर्यालको ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका छन् । जुन बंगलामा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बस्थे ।

    मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिकका नाममा सिन्डिकेट लगाउने योजनाकार पनि खड्का नै थिए । बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था छान्दा नै करोडौं रकम घुस दिनुपर्छ भनेर संकलन गरेका खड्काले अहिले म्यानपावरहरुसँग डिल गरिरहेका छन् । मलेसिया कामदार पठाउन अब २५ वटा मात्रै म्यानपावरले पाउँछन्, त्यसमा पर्ने हो भने मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई बुझाउन रकम चाहिन्छ भनेर उनले रकम उठाउन सुरु गरेका छन् । कैलाश खड्का मलेसियामा कामदार पठाउँदा स्वास्थ्य परीक्षण गर्ने ३९ वटा बायोमेट्रिक स्वास्थ्य संस्थाहरुको स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष पनि हुन् ।

    गोकर्ण बिष्ट श्रम मन्त्री हुँदा २०७५ जेठ २ मा सिन्डिकेट कायम गरी ठगी गरिरहेका यस्ता संस्थालाई कारबाहीको प्रक्रिया सुरु भएको थियो । तर कैलाश खड्काको समूहले मलेसियासम्मै सेटिङ गरेकाले ठगी धन्दा रोक्न बिष्टले सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार