Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राजस्वमा डीजी परिवर्तनको खेल, एनसेलको बिचौलिया समूहद्वारा बालुवाटारमा १५ करोडको अफर !

    राजस्वमा डीजी परिवर्तनको खेल, एनसेलको बिचौलिया समूहद्वारा बालुवाटारमा १५ करोडको अफर !

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 4.7K
    SHARES

    काठमाडौं । देशका विभिन्न निकायमा बिचौलियाहरुको बोलवाला रहँदै आएको छ । राज्यका महत्वपूर्ण निकायको प्रमुख बनाउनेदेखि ठूला ठेक्काहरुमा पनि बिचौलियाहरुको अस्वभाविक चलखेल हुँदैआएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाको नाम लिएर बिचौलियाहरुले बालुवाटारका नाममा सेटिङ गर्ने गरेका छन् ।

    प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई हटाउन बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालसहितका राजस्व छलीमा संलग्न घरानाहरु समेत लागेका छन् । पौडेलले विगतदेखि थाँती रहेका धेरै नक्कली भ्याटबिलका मुद्दा अगाडि बढाएपछि उनका बिरुद्ध यो समूह लाग्दैआएको छ ।



    ब्यापारी, बिचौलिया र राजस्व चुहावट गर्नेहरु एकसाथ उनीमाथि खनिएका छन् । प्रकाश पौडेलले पारदर्शी रुपमा काम गर्न थालेपछि बिचौलियाहरु उनका बिरुद्ध लागेका छन् । प्रकाश पौडेललाई हटाउने र भोलि आउनेलाई आफ्नो स्वार्थ अनुरुप नचले काम गर्नै नसक्ने वातावरण सृजना गरेर प्रधानमन्त्रीलाई समेत विवादमा पार्ने बिचौलियाहरुको चालबाजी देखिएको छ ।



    आसन्न आमनिर्वाचनमा ठूलो धनराशी पार्टीका उम्मेदवार तहमा पुर्याउनुपर्ने भएकाले त्यसको समेत स्रोतको ब्यवस्थापन आफूले गर्ने कबुलियतनामा सहित उनीहरु राजस्व अनुसन्धान विभागको महानिर्देशक नै परिवर्तन गर्ने खेलमा लागेका हुन् । बालुवाटारको नाम लिएर राजस्वको महानिर्देशक परिवर्तनको खेलमा लाग्ने बिचौलियाहरुमा मुख्यतः एनसेलका मालिक सतिशलाल आचार्य, वन मन्त्रालयमा चन्दनेका नामले चिनिने टीसएनका पूर्वकर्मचारी रामचन्द्र भट्ट, गिरीबन्धु टी स्टेटदेखि ठूला सेटिङमा लाग्दै अरबौंपति भएका तारा सापकोटाहरु राजस्वको महानिर्देशक परिवर्तनको खेलमा सक्रिय रुपमा लागेका छन् ।

    यी तीनै जनाको समूहले प्रधानमन्त्री देउवाका साला भूषण राणालाई पनि प्रभावमा पारी राजस्व अनुसन्धानको महानिर्देशकमा झलकराम अधिकारीलाई लानेगरी अग्रिम शुभलाभ लिइसकेको दाबी गर्न थालेका छन्। स्रोतका अनुसार झलकराम अधिकारीलाई राजस्व अनुसन्धान बिभागमा महानिर्देशक बनाउनका लागि सतिशलाल आचार्यले नै शुभलाभको ब्यवस्थापन गर्ने जिम्मा लिएका छन् । यो बिचौलियाको समूहले राजस्वको महानिर्देशक डीजी बनाउन नै १५ करोडको अफर बालुवाटारको एक तप्कालाई गरेको छ । महानिर्देशक परिवर्तन गरेकै भरमा एकमुष्ट त्यत्रो रकम आउने प्रस्ताव बिचौलियाले गरेकाले बालुवाटरको त्यो समूह पनि अलमलमा परेको छ । विनाकुनै निर्णय र विवादमा नपरी त्यत्रो रकम अग्रिम आउने प्रलोभन बिचौलियाहरुले दिएको स्रोतले बताएको छ ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक परिवर्तन गर्नका लागि यो बिचौलियाको समूहको जाउलाखेल सरोबरमा पटक पटक बैठक बसी बालुवाटारको एक पक्षलाई प्रलोभनमा पारिसकेको छ । सतिशलाल आचार्यसहितको यो समूहको बैठकले रकम संकलन गरी बालुवाटार पुर्याएको स्रोतको दाबी छ । भूषण राणाको जाउलाखेलस्थित अखडामा बसेको बैठकले तय गरेको योजना अनुसार बालुवाटारको एक पक्षलाई सहमत गराइसकेको र आफू डीजी बन्न लागेको भन्दै  झलकराम अधिकारीले निकटहरुलाई बताइसकेको स्रोतको दाबी छ। । एनसेलका सतिशलाल आचार्यसँग लामो समयदेखि उठबस भएका प्रधानमन्त्री कार्यालयका एक सचिवले समेत राजस्वको डीजी परिवर्तनको चलखेललाई सघाउ पुर्याउँदैआएका छन् ।

    प्रजातन्त्रवादी पृष्ठभूमिका सहसचिव कोही पनि प्रकाश पौडेललाई हटाएर राजस्वको डीजी बन्न तयार नभएपछि बिचौलियाहरुले किन माओवादी पृष्ठभूमिका अधिकारीलाई ल्याउन खोजेका हुन् ? सहसचिव अधिकारी राजस्वको डीजी हुनका लागि त्यति ठूलो स्केलमा अग्रिम खर्च गर्न किन राजी भए ? यी र यस्ता धेरै अनुत्तरित प्रश्नको जवाफ खोजी सुरु भएको छ ।

    को हुन् झलकराम अधिकारी ?
    झलकराम अधिकारी २०७८ असार २९ मा शेरबहादुर देउवाको सरकार गठन हुनासाथ राजस्व अनुसन्धान विभागको महानिर्देशक हुने दाउमा थिए । राजस्व अनुसन्धान विभाग साविककै जस्तो अर्थमन्त्रालय अन्तर्गत आउने र आफू माओवादी निकट भएकाले सहजै महानिर्देशक हुने आशामा थिए । केपी ओलीले सरकारको नेतृत्व सम्हाल्नासाथ २०७४ फागुनमा राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

    जुन कुराको हालका प्रधानमन्त्री तथा तत्कालीन प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाले चर्को बिरोध गरेका थिए । देउवाले चर्को बिरोध गरेकाले राजस्व र सम्पत्ति पुनः अर्थमन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय मातहत आउने आशामा सहसचिव अधिकारी थिए । तर, देउवाले प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइसकेका ती विभागलाई आफ्नो अधिनबाट दिन चाहेनन् । अधिकारी रामप्रसाद आचार्य सरुवा भएपछि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुनका लागि लागे ।

    अर्थमन्त्रालयमा सरुवा हुन खोजे । तर उनलाई माओवादीको कोटाबाट अर्थमन्त्री भएका जनार्दन शर्माले नै पत्याएनन् । न राजस्व अर्थ मन्त्रालय मातहत नै आयो । राजस्व अर्थमा नगएपछि उनी सहकारी विभागको रजिष्टार भएर गए । त्यहाँ पनि केही महिना बसेपछि उनी हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा बसी दिनहुँ बिचौलियाहरुसँग बसेर पुनः बालुवाटारलाई नै प्रभावमा पारी राजस्वको डीजी हुने चलखेलमा लागेका छन् ।

    २०७६ मा ठूला करदाता कार्यालयको प्रमुख हुँदा नै एनसेलका सतिशलाल आचार्यसँग उनको कनेक्सन थियो । त्यही कनेक्सनका आधारमा आचार्यले सहसचिव अधिकारीलाई राजस्वमा डीजी बनाउन बालुवाटारलाई अग्रिम सेटिङमा सहयोग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार