Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रवीण हत्या प्रकरण : राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद

    प्रवीण हत्या प्रकरण : राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    दमौली । तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरपालिका–६ का अछामीलाई जन्मकैदको फैसला सुनाएको हो ।

    साथै अभियुक्तबाट पीडितका परिवारलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अभियुक्त अछामी विसं २०७७ जेठ ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।



    अभियुक्त भानु नगरपालिका–६ का गोविन्दबहादुर मगरलाई तीन वर्ष कैद र रु ३० हजार क्षतिपूर्तिको फैसला भएको छ । सोही प्रकरणका अभियुक्त भानु नगरपालिका–५ का टाइसन भन्ने प्रकाश मल्ललाई डेढ महिना कैद र रु सात हजार पाँच सय जरिवानाको फैसला भएको स्रेस्तेदार कुँवरले बताए ।



    बन्दीपुर गाउँपालिका–३ का धनबहादुर घर्ती, भानु नगरपालिका–१ का दीपक भण्डारी र भानु नगरपालिका–१ का अङ्कित अधिकारीलाई भने अदालतले सफाइ दिएको छ । विसं २०७७ जेठ ८ गतेको आदेशअनुसार टाइसन भन्ने प्रकाश मल्ल रु ५० हजार र भानु नगरपालिका–६ का गोविन्दबहादुर मगर रु एक लाख धरौटी लिएर तारेखमा रिहा भएका थिए ।

    भानु नगरपालिका–१ का प्रवीण गुरुङ विसं २०७७ वैशाख ९ गते रातिदेखि हराएका थिए । उनको शव वैशाख १० गते साँझ भानु नगरपालिका–५ नावरुङस्थित खोल्सामा फेला परेको थियो । गुरुङको हत्या अभियोगमा मृतकका बुबा बुद्धिराज गुरुङले अभियुक्त विरुद्ध किटानी जाहेरी दिएका थिए ।

    तत्कालीन वडाध्यक्ष प्रकाश मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि घर्तीले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाएका थिए । सामान लिन पवनसँगै उनका साथीहरू दीपक भण्डारी, अङ्कित अधिकारी र प्रवीण गुरुङ पनि नावरुङ पुगेका थिए ।

    नावरुङमा स्थानीयवासी गोविन्द थापामगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीय युवा र प्रवीण गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि प्रवीण बेपत्ता हुनुभएको पीडित परिवारको भनाइ छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार