Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सशस्त्रका आईजीपीको अचम्मको शैली, मुख्यालयबाटै बद्नाम घुमुवा परिचालन

    सशस्त्रका आईजीपीको अचम्मको शैली, मुख्यालयबाटै बद्नाम घुमुवा परिचालन

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 3.4K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०७९ जेठमा देशभर सादा पोशाकमा घुमुवा खटाउन नपाउने गरी परिपत्र गरे । भारतसँग सीमा जोडिएका जिल्लाका बाहिनी, गण, गुल्म र बीओपीका इन्चार्जहरुले सादा पोशाकमा घुमुवा परिचालन गर्दा अनियमितता बढेको, तस्करी मौलाएको उल्लेख गर्दै उनले सादा पोशाकका घुमुवा हटाउने परिपत्र गरेका थिए । त्यो परिपत्र गरेको केही समय घुमुवा परिचालन रोकियो ।

    सशस्त्र प्रहरीको कमाण्ड सम्हालेको १ बर्ष पुगेको अवसरमा आईजीपी अर्यालले सशस्त्र मुख्यालयमा पत्रकारहरुसँग उपलब्धीका रुपमा सादा पोशाकका घुमुवा हटायौं भनेका थिए । तर, पत्रकारहरुसँग घुमुवा हटाएको उपलब्धी बताए पनि पछिल्ला दिनमा मधेश प्रदेशका बाहिनी, गण, गुल्म र बीओपीका प्रमुखहरुले घुमुवा खटाएर अतिरिक्त कमाउधन्दा संचालन गर्ने क्रम बढेको छ । सुरक्षाफौजमा प्रमुख नै सर्वेसर्वा भएकाले उसको संकेतविना मातहतका डीआईजी, एसपी, डीएसपी र इन्स्पेक्टरले सादा पोशाकमा घुमुवा राख्ने कल्पना गर्न सकिंदैन । त्यसैले पनि घुमुवा राख्न उनको मौन सहमति रहेको पुष्टि गर्दछ ।



    सशस्त्रमा स्वयं आईजीपी राजु अर्यालले नै सशस्त्र मुख्यालयबाटै घुमुवा खटाएको खुलासा भएको छ । असई रमेश कुँवर र जवान इमाम आलम मुख्यालयबाटै मधेश प्रदेशमा खटिएको स्रोतले बताएको छ । असई कुँवर जागिरमा प्रवेश गरेदेखि नै कोशी प्रदेशमा घुमुवामा कार्यरत रही डीआईजीका लागि अतिरिक्त असुलीमा परिचालित थिए । कमल गिरी बाहिनीपति हुँदासम्म कुँवरले झापा, मोरङ र सुनसरीको तस्करीको संजालसँग मिलेर सेटिङ मिलाउँदै आएका थिए । कुँवरको तस्करसँगको कनेक्सनका बारेमा मिडियाले धेरै नै समाचार लेखेपछि झापामा कार्यरत कुँवरलाई आईजीपी अर्यालले कार्यदलमा तानेका थिए । आफैंले कार्यदलमा सरुवा गरेका कुँवरलाई आईजीपी अर्यालले नै मुख्यालयबाटै झापा, मोरङ र सुनसरी हेर्नेगरी खटाएका छन् ।



    त्यस्तै, सिपाही इमाम आलम जागिर खाएदेखि नै बारा, पर्सा, सप्तरी नछाड्नेमा पर्दछन् । लामो समयदेखि यी जिल्लामा घुमुवाका रुपमा परिचालित उनको सानसौकत डीआईजीको भन्दा पनि रवाफपूर्ण छ । पुख्र्यौली घर बारामा भएका आलमको बीरगञ्जमै घरदेखि जग्गा जमिन समेत रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनलाई विगतमा गणेश ठाडा मगरले मधेश प्रदेशमा बाहिनीकै घुमुवाका रुपमा खटाएर लाभ लिएका थिए ।

    इमामको पहुँच तत्कालीन आईजीपी शैलेन्द्र खनालसम्म सोझै रहेको थियो । गतबर्षको घुमुवा हटाउने निर्णयमा इमाम पनि परे । तर, उनी बिरामी काज भनेर सशस्त्रको बलम्बु अस्पतालमा आए । अस्पतालमा बिरामी काजमा आएको ४ महिना बितिसकेको छ । बिरामी काजकै अवधिमा उनको काजसरुवा बाराको १२ नम्बर गणमा भयो । तर, लामो समय बसेका इमामको बिरामी बिदा लिएको ४ महिनामा बारामा सरुवा भएको हल्ला भएपछि उनको काज रद्द भयो । काज रद्द गरिएका इमामलाई हालसालै सशस्त्र मुख्यालयबाटै मधेश प्रदेशका लागि घुमुवा खटाइएको छ । उनले ४ हप्ता अघि सप्तरीको राजबिराजमा गएर एउटा घर नै भाडामा लिइसकेका छन् । सञ्जय यादवको उक्त घरको भाडासमेत गुप्ता थरका तस्करले तिरिदिने गरी लिएको स्रोतले बताएको छ ।

    सशस्त्रले कोशी प्रदेशका घुमुवा कुँवरसँगै १६ जना विवादित घुमुवालाई केही महिना अघि सरुवा गरेको थियो । पहिला ती घुमुवाको काजसरुवा गरियो । ३ महिनापछि सरुवा निकालियो । कतिपय काज भएका घुमुवाको दरबन्दी कायम गरियो भने कतिपयलाई काज गरेको भन्दा विकट जिल्लातिर पुर्याइयो । कतिपयलाई झन् सुगम र अतिरिक्त कमाइ हुने ठाउँमा सरुवा गरियो ।

    अर्याल डीआईजी हुँदादेखिका उनका रनर सिपाही रोशन मिश्रको काज सशस्त्रको २० नम्बर गण सिनामंगल काठमाडौंमा भएको थियो । जागिरमा प्रवेशदेखि नै सर्लाहीमा कार्यरत मिश्रको २० नम्बर गणबाट सिन्धुली गुल्ममा सरुवा भयो । सिन्धुलीबाट महोत्तरी र सर्लाही जान सहज हुन्छ । सिन्धुली सरुवा भएपछि मिश्र विगतमा जस्तै सर्लाहीमा गएर ढुक्कले घुमुवाका रुपमा तस्करहरुसँग सेटिङ मिलाउँदै आएका छन् । आईजीपीका रनर भएबापत सर्लाहीमा घुमुवाको काम गर्ने छुट उनले पाएका छन् । १० नम्बर गण सर्लाहीका गणपतिलाई समेत खुसी पारी उनी सिन्धुली दरबन्दी राखी सर्लाहीमा सेटिङको काम गरिरहेको स्रोतले बतायो ।

    त्यसैगरी हवल्दार आत्माराम पटेललाई १८ नम्बर गण चोभारमा काजसरुवा गरिएको थियो । उनी यसअघि मधेश प्रदेशका डीआईजी गणेश ठाडामगरको आर्थिक कारोबार गर्थे । ठाडाकै प्रयासमा पटेलको दरबन्दी काभ्रेमा कायम गरियो । काभ्रेका एसपीले पटेललाई सिन्धुलीमा पठाउन लगाए । सिन्धुलीका डीएसपीलाई ठाडाले मेरो मानिस हो, घर गइरहन्छ, भनिदिए । मधेश प्रदेशमा लामो समय कार्यरत अनुभवी घुमुवा आत्माराम पटेल र असई मनोज पटेलसहित ५ जनालाई सिन्धुलीमा दरबन्दी राखी मधेश प्रदेशका महोत्तरी, सर्लाही र धनुषामा तस्करसँग सेटिङ गर्ने गरेको गुनासो माथि पुगेपछि दरबन्दीमा हाजिर गर्न सशस्त्र मुख्यालयले पत्र नै लेख्नुपरेको थियो ।

    सशस्त्र मुख्यालयले बागमतीका घुमुवा मधेश प्रदेशमा खटिन नपाउने र दरबन्दीमै जानू भनेपछि आत्माराम, मनोजसहित ५ जनाले राजीनामा दिएका छन् । आत्मारामको पेन्सन भइसकेको छ भने अरु ४ जनाको पेन्सन नै नभई राजीनामा दिएका हुन् ।

    अस्पतालमा बिरामी, १८ नम्बर गणपतिलाई लाभ
    सशस्त्र प्रहरीको बलम्बु अस्पतालनजिकै पर्छ १८ नम्बर गण । कमाउ ठाउँबाट बिरामीको बहानामा अस्पतालमा काजमा आउनेहरुलाई १८ नम्बर गणमा बस्ने ब्यवस्था संगठनले गरेको छ । मधेशको घुमुवाबाट बिरामी भएको बहानामा अस्पतालमा आउने सशस्त्र प्र्रहरीलाई पनि १८ नम्बर गणमै पठाइन्छ ।

    फलोअपका लागि उनीहरुलाई पायक पर्ने ठाउँमा बस्ने ब्यवस्था गरिएको हो । इमाम जस्ता नक्कली बिरामी बनेर आउनेहरुसँग १८ नम्बर गणका एसपी उद्धव रावलले बिदा छाडेर रासनबापतको रकम गोजीमा हाल्ने गरेको आरोप छ । स्रोतका अनुसार १८ नम्बर गणमा बस्ने त्यस्ता बिरामीको संख्या ९० जनाको हाराहारीमा रहेको छ ।

    बद्नाम घुमुवालाई मुख्यालयबाटै खटाइएको बारेमा सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले भने–‘घुमुवा भनेर खटाएका छैनौं । केही दिनका लागि सूचना संकलन गर्न खटाइएको हुनसक्छ । हतियार, लागूऔषध कारोबारको सूचना लिनका लागि खटाइएको होला । मुख्यायलबाटै घुमुवा भनेर खटाइएको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार