Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्व राजा शाह अब दुई साता चितवनमा, प्रसाइको आन्दोलनमा सहभागी नहुने संकेत

    पूर्व राजा शाह अब दुई साता चितवनमा, प्रसाइको आन्दोलनमा सहभागी नहुने संकेत

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 840
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । परिवारका अन्य सदस्यसहित चितवन गएका पूर्व राजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ ।

    उनी पटिहानीको सोल्टी होटलमा बस्ने भएका छन् । गत वर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए । नितान्त निजी भ्रमण भनिएकालले भ्रमणको कुनै पनि कार्यक्रम सार्वजनिक गरिएको छैन ।



    राप्रपाका नगर सचिव सुलभ सिग्देलले भ्रमणबारे पूर्वराजाको सचिवालयबाट कुनै आधिकारिक जानकारी नआएको बताए । यद्यपी चितवन प्रहरीले पनि पूर्वराजा आउनेबारे जानकारी पाएको बताएको छ ।



    स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवनतर्फ लागेका हुन् । फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको छ ।

    सोल्टी होटल स्रोतका अनुसार १६ दिनका लागि ३२ कोठाहरु बुक गरिएका छन् । धेरै कोठा बुक गरेकोले उनका आफन्तहरु र अन्य मानिसहरु पनि यसपटक पटिहानी आउने अनुमान लगाउन सकिन्छ ।

    चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

    पछिल्लो समय तराइ–मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर राजनीतिक अभिव्यक्ति दिन थालेका पूर्व राजा ज्ञानेन्द्रको यस भ्रमण पारिवारिक भनिए पनि नागरिक अभिनन्दन जस्ता विभिन्न अभियानहरुको पूर्व तयारी हुन सक्ने भएकाले अर्थपूर्ण मानिएको छ ।

    यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् ।

    उनले आफ्नो नेतृत्वको नागरिक बचाउ महाअभियानको वार्षिकोत्सव कार्यक्रममा पूर्वराजालाई निम्त्याउने प्रयास गरेका थिए । उनले सिमारा पुगेर पूर्वराजालाई भेटेका पनि थिए ।

    शनिबार मात्रै आफ्नो कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मेडिकल व्यवसायी समेत रहेका प्रसाइले पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताएका थिए ।

    उनले भनेका थिए–‘फागुन १ गते देशभर र काठमाडौं उपत्यकावासिको उपस्थिती हुन्छ भन्ने आशा गरेको छु। सबै नेपालीहरुको उपस्थितीमा राजाको हातबाट दियो बालेर हामीले उज्ज्यालो भविष्य खोजौं। तस्करलाई देश जिम्मा लगाउदा दुख पायौं।’

    पूर्वराजालाई पनि देशप्रति माया भएकाले आफ्नो कार्यक्रममा आउने दाबी गरेका उनले भनेका थिए‘मैले पहिला पनि निम्तो दिएको थिएँ उहाँ आउनुभयो। अहिले पनि मैले निम्तो दिएको छु। उहाँलाई नेपाली जनताको माया भए आउनुहुन्छ। मैले उहाँसँग तीन घण्टा कुरा गरेको हुँ। हामीले निमन्त्रणपत्र पठाएको छौं। आउनुहुन्छ भन्ने हो उहाँ आउनुभएन भने पनि मेरो चित्त दुखाइ छैन।’

    यद्यपी पूर्व राजा शाह भने आफू स्वयम् सडकमा आउँदा गलत सन्देश जान सक्ने भन्दै प्रसाइको आन्दोलन छल्दै चितवनतिर लागेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार