Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पीडितको चरित्रमाथि प्रश्न उठाएर आरोपित सिद्धबाबालाई उन्मुक्ति

    पीडितको चरित्रमाथि प्रश्न उठाएर आरोपित सिद्धबाबालाई उन्मुक्ति

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ । जिल्ला अदालत सुनसरीले बलात्कार घटनामा पीडितको चरित्रमाथि प्रश्न उठाएर आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको पाइएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार घटनाकी पीडित परिसर–२६ (सांकेतिक नाम) को स्वभाव र चरित्रमाथि प्रश्न उठाएर गिरीलाई सफाइ दिएको हो  ।

    पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिलहरूलाई बहसको मौकासमेत नदिई कोइरालाले एकतर्फी सुनुवाइका आधारमा आरोपितलाई सफाइ दिएका थिए । फैसला गर्नासाथ जिल्ला अदालत सुनसरीबाट सरुवा भएका कोइरालाले त्यसको पूर्णपाठ तयार गर्नै दुई महिनाभन्दा बढी समय लगाइदिए । यसअघि काठमाडौं जिल्ला अदालतमा हुँदासमेत विवादमा परेका न्यायाधीश कोइरालामाथि न्यायपरिषद्मा समेत उजुरी छ ।



    चतराधाममा बस्ने सिद्धबाबाले आफ्नो नियमित सम्पर्कमा रहेकी एक भक्तलाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेन्जर कल गरेका थिए । ती महिलाले ‘रेस्पोन्स’ नगरेपछि रोमन अंग्रेजीमा ‘हेलो, मैले मौका दिएको बेलामा चुप किन ?’ भनी कुटीमा बोलाए । साधनाबाट प्राप्त हुने दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गएकी थिइन् । पीडितको किटानी जाहेरीअनुसार ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाएर र बलात्कार गरे । घटनापछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नू, भनेमा अनिष्ट हुन्छ’ भनेर फेरि धम्की दिएका थिए । घटनापछि डरले चुप लागेर बसेकी ती महिला काठमाडौं फर्किन् । केही सातापछि श्रीमान्‌ले सिद्धबाबा र उनीबीच भएको म्यासेजको विवरण हेर्दा ‘शारीरिक सम्पर्क’ को कुरा उल्लेख भएको थाहा पाए । अनि उनले सबै यथार्थ श्रीमान्‌लाई बताइन् ।श्रीमान्‌को अग्रसरतामा ती महिलाले प्रहरीमा किटानी जाहेरी दिइन् । सिद्धबाबाको दाबीअनुसार बालब्रह्मचारी भएकाले उनले आगो र स्त्रीलाई छुने कामसमेत गरेका थिएनन् । पीडित भनिएकी परिसर–२६ उनको आश्रममा समेत नआएको सिद्धबाबा र उनका समर्थकको दाबी थियो तर पीडितको जाहेरीका आधारमा जिल्ला अदालत सुनसरीमा मुद्दा चलेको थियो । गत वर्ष दर्ता भएको मुद्दा मंसिर २२ मा फैसला भयो र आरोपित सिद्धबाबाले सफाइ पाए ।



    जिल्ला अदालत सुनसरीका न्यायाधीश कोइरालाले सिद्धबाबालाई सफाइ दिनुका पछाडि केही आधार प्रस्तुत गरेका छन् । उनले पीडित भनिएकी परिसर–२६ को क्रियाकलापमा प्रश्न उठाई त्यसका आधारमा सिद्धबाबा निर्दोष रहेको फैसला गरेका हुन् । एकतर्फी सुनुवाइका आधारमा फैसला भएको हुनाले त्यसमा पीडितका तर्फबाट भएको कानुनी प्रतिरक्षा र तथ्यको विवेचना हुन सकेको छैन ।

    एकपक्षीय सुनुवाइका आधारमा न्यायनिरूपण हुनु भनेको प्राकृतिक न्यायको सिद्धान्तविपरीत समेत हो । सिद्धबाबा भनिने व्यक्तिले घटनाको दिन राति बैठक बसी दिग्विजय यात्राका बारेमा छलफल गरेको र पछि आराम गरेको भनी आफ्ना उत्तराधिकारी र सेवकहरूलाई बयान गरेको फैसलामा उल्लेख छ । आफू वैदिक सनातनी रामानन्दीय वैष्णव भएकाले फेसबुक नचलाउने, मोबाइल नछुने, अनि स्त्री र अग्निबाट टाढा रहने भनी उनले बयान गरेका थिए । कात्तिक ४ गतेको घटनामा ३८ दिन बितेपछि जाहेरी दर्ता गरेको भन्दै न्यायाधीश कोइरालाले पीडित परिसर–२६ को नियतमाथि प्रश्न उठाएका छन् । पीडितले जाहेरी र पछि बकपत्रमा प्रतिवादीको घुँडामा खत रहेको बताएकी थिइन् । प्रहरीले अनुसन्धान गर्दा सिद्धबाबा भनिने व्यक्तिको घुँडामा खत भएको भेटियो । सिद्धबाबाले ती पीडित आफ्नो आश्रममै नआएको र आफूलाई नभेटेको दाबी गरेका थिए तर नभेटेको भए पीडितले घुँडाको दाग देख्ने र थाहा पाउने थिइनन् । पीडितले सिद्धबाबालाई एकान्तमा भेटेको भन्ने एउटा प्रमाण यो पनि हो । पीडितले घटना हुँदा घुँडामा घाउ भएको र खत बसेको बताएकी थिइनन् तर न्यायाधीश कोइरालाले त्यो खत घटना हुनुभन्दा अघिको भएको अर्थ लगाइदिए । न्यायाधीशले त्यो खत घटनाको दिनको होइन भनी व्याख्या गरेका छन् । उनले फैसलामा भनेका छन्, ‘यसबाट प्रतिवादीको घुँडामा रहेको खत पहिलादेखि नै रहेको स्पष्ट भएको छ ।’

    प्रहरीले घटना भएको भनिएको स्थानमा मुचुल्का पनि गरेको थियो । मुचुल्कामा कोठाको आकारप्रकार र त्यहाँ रहेका सरसामानको अवस्था उल्लेख छ । न्यायाधीश कोइरालाले लुकीछिपी हुने बलात्कारजस्तो अपराधमा अरू फौजदारी अपराधमा झैं दसी प्रमाण खोजेका छन् । बलात्कारका कैयौं घटनाहरूमा प्रमाण नभेटिने र भएका प्रमाणसमेत पीडकले लोप गर्ने अवस्था हुन्छ । अझै सिद्धबाबा आश्रमको कोठा उनकै नियन्त्रणमा रहेकाले बलात्कारको प्रमाण ३८ दिनसम्म सुरक्षित रहने अवस्था थिएन । प्रमाण खोज्दै फैसलामा भनिएको छ, ‘घटनास्थल भनिएको स्थानबाट जबर्जस्ती करणीको कसुरसँग सम्बन्धित कुनै दसी प्रमाण बरामद भएको देखिँदैन ।’ त्यतिमात्रै होइन, उनले घटनालगत्तै हारगुहार माग्ने, कराउने, चिच्याउने जस्ता व्यवहार हुनुपर्नेमा नभएको भन्दै घटना भएकैमा शंका गरेका छन् । ‘घटना भएको भए मौकैमा हारगुहार माग्नु वा घटनाबारे बताउनुपर्नेमा सो गरेको देखिँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जाहेरवाली रातको उक्त समयमा रोएको सुनेको थिएँ भन्ने एउटै पनि साक्षीहरू देखिएका छैनन् ।’

    सिद्धबाबाका साक्षीहरूको बयान उद्धृत गर्दै फैसलामा सिद्धबाबालाई फसाउन र बदनाम गराउन यस प्रकारको झूटा आरोप लगाएको हो भनिएको छ । आफूलाई चार्टर एकाउन्टेन्ट दाबी गर्ने प्रशान्त अधिकारी पनि सिद्धबाबाको आश्रममा सेवक बनी बसेका थिए । प्रहरीले मुद्दा कमजोर बनाउन उभ्याएका प्रशान्त अधिकारीले बयानमा दीक्षा लिन उपस्थित नभएको देखेर ‘मैले मौका दिएका बेला चुप किन’ भनी आफूले म्यासेज पठाएको जवाफ दिएका थिए । पीडितका पतिले घटनाबारे थाहा पाएपछि आश्रमका व्यक्तिहरूसँग कुरा गरेका थिए । त्यसपछि सरसल्लाह गरेर मात्रै प्रहरीमा जाहेरी दिएका थिए । पीडितमाथि बलात्कार भएको होइन भन्न फैसलाले यही विषयलाई आधार बनाएको देखिन्छ ।

    ‘आफ्नो श्रीमतीलाई कसैले जबर्जस्ती गरेको भन्ने कुरामा विश्वस्त भएको अवस्थामा प्रहरीमा जाहेरी दिन जानुपर्नेमा उल्टै आश्रमका मानिससँग वार्तालाप गर्नुको कुनै विवेकसम्मत आधार खुलाउन सकेको पाइँदैन,’ फैसलामा भनिएको छ । घटनाको भोलिपल्ट आश्रमबाट निस्केपछि नजिकको प्रहरीमा गई घटनाबारे सूचना दिनुपर्नेमा नदिएको भन्दै न्यायाधीश कोइरालाले ढिलो गरी जाहेरी दिनुको नियतमाथि नै प्रश्न उठाएका छन् । फैसलाअनुसार ‘३८ दिनपछि मात्रै जाहेरी दर्ता भएको अवस्था विचारणीय देखिन्छ ।’ तर त्यही फैसलाको विवेचनामा न्यायाधीशले बलात्कारका क्रममा नरम र कठोर प्रकृतिका दबाब हुने गरेको भन्दै डर, धम्की र त्रासलाई नरम प्रकृति भनी चित्रित गरेका छन् । सिद्धबाबाको घटनामा पीडितमाथि कुनै दबाब थियो कि थिएन भन्ने विवेचना गर्न उनी चुकेका छन् किनकि पीडितले आफूमाथि अन्यत्र घटनाबारे बोलेमा अनिष्ट हुने भनी धम्क्याइएको भनी बयान दिएकी थिइन् ।

    फैसलामा लामो हिस्सा पीडित र प्रतिवादीबीच फेसबुकको म्यासेन्जरमा भएको संवादको व्यहोरा हुबहु उतारिएको छ । त्यसलाई प्रमाणका रूपमा लिन मिल्ने भनी औचित्य पुष्टि गर्न फैसलामा न्यायाधीशले लामो विवेचना गरेका छन् । त्यो संवादमा भक्ति, अर्पणजस्ता भाव लाग्ने संवाद भए पनि शारीरिक सम्पर्कको विषय उल्लेख छैन । फैसलामा भने संवादलाई दुवैबीच सहमतिमा भएको यौनसम्बन्धको रूपमा चित्रित गर्न खोजिएको छ । ‘सुरुवाती चरणमा उजुरी दिने प्रतिवादीसँग बफादार रही भक्तिभाव दर्शाएको र निकट हुन चाहेको प्रतीत भएको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘तर क्रमशः जाहेरीवालाले गुरु र शिष्यको बीचको मर्यादा आफैंले तोडी यौन चाहना र उत्तेजनाका भाव सम्प्रेषण गर्न थालेको देखिइरहेको छ ।’

    त्यसपछि फैसलामा पीडितमाथि लाञ्छना सुरु हुन्छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाले फैसलामार्फत राखेको दृष्टिकोणमा पारिवारिक दायित्व भुलेर पीडितले विवाहइतरको सम्बन्ध बनाएकी छन् । ‘आफूलाई अति माया गर्ने पति र स–साना सन्ततिप्रतिको दायित्व र जिम्मेवारीलाई बिर्सिएर विवाहेत्तर सम्बन्ध बनाउन जाहेरवाली आतुर भएको स्पष्टै देखिने अभिव्यक्ति म्यासेन्जरबाट पठाएको देखिन्छ,’ उनले फैसलामा लेखेका छन्, ‘सम्प्रेषित उक्त शब्द र वाक्यहरूले निजभित्र अन्तरनिहित यौनेच्छाको भाव प्रकट भएको देखिन्छ ।’ यदि प्रेमालापयुक्त संवाद भएको रहेछ भने पनि बलात्कार हुनु नितान्त फरक कुरा हो तर यो मुद्दामा भने प्रेम र समर्पण भन्ने आधारमा आरोपितलाई सफाइ दिइएको छ ।

    जाहेरवाली आफैंले पटक–पटक अनुनयविनय गरी तृष्णाजन्य कामको इच्छा र चाहना देखाएपछि सिद्धबाबाले त्यसमा मौन स्वीकृतिको भाव प्रकट गरेको निचोड फैसलामा छ । त्यसपछि पीडितले गरेको म्यासेजलाई पनि सहमतिमा गरेको यौनसम्पर्क भन्दै त्यसका फेहरिस्त प्रस्तुत छ । फैसलामा भनिएको छ, ‘जाहेरीकर्ताले आफूमाथि भएको भनिएको घटनालाई सहज रूपमा लिँदै अझै थप सम्बन्ध राख्न चाहेको भाव प्रकट गरेको देखिन्छ । ती संवादबाट पनि उनको मञ्जुरीबेगर सिद्धबाबाबाट कुनै काम भएको भन्ने देखिँदैन ।’ फैसलाको निष्कर्षमा न्यायाधीश कोइरालाले पीडित आफैं सिद्धबाबाको बैठक कक्षमा गई स्वेच्छाले शारीरिक सम्पर्क भएको देखिएको भन्दै यस्तो काममा उनको मञ्जुरी नरहेको मान्न नमिल्ने ठहर गरेका छन् । ‘उनी (परिसर–२६) सिद्धबाबासँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी सहमतिमा भएको भन्ने देखियो,’ निष्कर्षमा भनिएको छ, ‘सिद्धबाबा उपरको अभियोग दाबी स्थापित हुन आएन । कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’ कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार