Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री ज्ञवाली

    बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री ज्ञवाली

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् ।

    भ्रमणमा संलग्न संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए ।



    बङ्गलादेशको राजकीय भ्रमणका रहेका राष्ट्रपति भण्डारी र बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच सोमबार भएका द्विपक्षीय भेटवार्ता र अन्य छलफलमा उक्त कुरा राखिएको मन्त्री ज्ञवालीले जनाए ।



    भेटवार्ताका क्रममा नेपालले आफ्ना उत्पादनहरुको बङ्गलादेशमा सहज व्यापारिक पहुँचका लागि प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जनाए ।

    राष्ट्रपति भण्डारीसँग बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री डा एके अब्दुलले सोमबार शिष्टाचार भेटवार्ता गरेका थिए भने मन्त्री ज्ञवाली र विदेशमन्त्री अब्दुलबीच ‘साइडलाइन’ वार्ता भएको थियो ।

    ती भेटवार्तामा आपसी घनिष्ठ सम्बन्धलाई आर्थिक साझेदारीसहित अघि बढाउन सघन छलफल भएको र औपचारिक सम्बोधनका क्रममा दुवै देशका नेताबाट उक्त प्रतिबद्धता प्रकट भएको बताउँदै मन्त्री ज्ञवालीले ऊर्जा, पर्यटनलगायत व्यापार प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा प्रयासका विषयमा पनि छलफल भएको जानकारी दिए ।

    बङ्गलादेशसँग भएको रोहनपुर–सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’को पत्राचार आदानप्रदानको सहमतिले नेपालले तेस्रो मुलुकसँग व्यापार सुगमता पाउने निश्चित भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

    नेपालसँगको व्यापार घाटा कम गर्न बङ्गलादेशले लगाएको अतिरिक्त भन्सार शुल्क घटाउन र नेपाली वस्तु तथा उत्पादनलाई यहाँ सहजरुपमा प्रवेश पाउनका लागि आफूहरुले प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

    नेपालको धागो निर्यात गर्ने मार्ग अपायक भएकाले त्यसलाई पायक बनाउन आग्रह गरिएको र नेपालबाट बङ्गलादेशमा ऊर्जाको व्यापारका लागि भारतसँग दुवैले थप छलफल गर्ने विषयमा साझा बुझाइ रहेको उनले बताए ।

    दुई देशले क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा आफूहरुका साझा विषयलाई उठाउने र समृद्धिको यात्रालाई सँगसँगै अघि बढाउने सुखद् संयोग र सङ्कल्पमा दुवै देशको समानता पाइएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

    समग्रमा राष्ट्रपति भण्डारीको भ्रमण कस्तो रह्यो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले भने, ‘बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसर पारेर भएको यो भ्रमण आफैँमा महत्वपूर्ण छ । छोटो अवधिको यो भ्रमण उपलब्धिमूलक र सफल भएकोे छ । दुवै देशका सरकार र जनताका तहमा रहेको सम्बन्ध अझै सुदृढ भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार