Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • गोली हानेर मारिदिन्छु भन्दै धम्की दिने एसपी पाण्डेलाई कारवाही गर्न कांग्रेसको माग

    गोली हानेर मारिदिन्छु भन्दै धम्की दिने एसपी पाण्डेलाई कारवाही गर्न कांग्रेसको माग

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.4K
    SHARES

    सिरहा । नेपाली कांग्रेस सिरहाले जिल्ला प्रहरी कार्यालय सिरहाका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कारबाही गर्न सरकार समक्ष माग गरेको छ ।

    आइतबार मध्यराति एसपी पाण्डेले कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवको घरमै गएर अमर्यादित गालीगलैज गर्दै गोली प्रहार गरी हत्या गर्ने धम्की दिएको भन्दै उनलाई कारबाहीको माग गरिएको कांग्रेसले जनाएको छ।



    एसपी पाण्डले सभापति यादवलाई ‘तिमीले मलाई सरुवा गरायौ, म तिमीलाई गोली ठोकेर मारिदिन्छु’ भन्दै पटकपटक पेस्तोल तेर्साएको जिल्ला कार्यसमितिका सभापति रामचन्द्र यादव र सचिव उपेन्द्रकुमार यादवले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    मादक पदार्थसमेत सेवन गरेर ज्यान मार्ने धम्की दिएका एसपी पाण्डेलाई प्रहरीहरूले गाडीमा हालेर लगेको समेत विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि के भएको थियो ?
    सिरहाका प्रहरी प्रमुख एसपी पाण्डे र काँग्रेस सिरहाका सभापति यादवबीच विवाद भएको थियो । विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डे आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेका थिए।

    स्रोतका अनुसार आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर तानेपछि एसपी पाण्डे सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेका थिए । पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले एसपी क्वार्टरमा फर्काएका थिए ।

    यसबिषयमा कांग्रेस सिराहाका सभापति यादवले आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर आफ्नो घरमा आएको बताएका थिए । सोमबार यादवले अनलाइन नेपालसँग कुराकानी गर्दै भनेका थिए, ‘(एसपी साप)सँग मेरो खास मतभेद थिएन । तर, राति मलाई मार्छु भनेर पेस्तोलसहित मेरो घरमा आउनु भएको रहेछ ।’

    स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सरुवा गरेपछि पाण्डे यादवमाथि जाइलागेका हुन् । तर, एसपी पाण्डेले भने आफूहरूबीच विवाद नभएको र आफू मार्छु भनेर यादवको घर नगएको दाबी गरेका छन् । ‘उहाँसँग कुनै विवाद भएको होइन,’ एसपी पाण्डेले अनलाइन नेपालसँग भने, ‘कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ गरेपछि सभापति यादवले मलाई मेरो सुरुवा गर्छु भन्नुभएको थियो र सरुवा पनि भयो ।’

    सिरहा प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डले अभियुक्तलाई समातेपछि सभापति यादवले छोड्न आफूलाई दबाब दिएको बताए ।

    ’अभियुक्तलाई समातेपछि छोड्न उनले मलाई दबाब दिनुभएको थियो’ उनले भने, ’विवाद भएको चाहिँ यी विषयमा हो, अरु कुरामा होइन ।’ आफ्नो सरुवाको विषयलाई लिएर आफू सभापति यादवको घरमा नपुगेको एसपी पाण्डेको दाबी छ ।

    घटनाको सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीले भने एसपी पाण्डे गस्तीमा गएको र अरु कुरा आफूलाई थाहा नभएको बताए । ‘एसपी साप गस्तीमा जानु भएको हो,’ उनले अनलाइन नेपालसँग भने, ‘अरु कुरा हामीलाई थाहा छैन ।’

    प्रहरी प्रधान कार्यालयले ७ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार