Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इजरायल र हमास सहमति : चार दिन युद्धविराम, पहिलो चरणमा हमासले ५० जना बन्दीलाई रिहा गर्ने

    इजरायल र हमास सहमति : चार दिन युद्धविराम, पहिलो चरणमा हमासले ५० जना बन्दीलाई रिहा गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 642
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय समुदायको लगातारको दवाब र प्रयत्नपछि इजराइल र हमासबीच सहमति भएको छ । जसअनुसार हमासले गजामा बन्दी बनाइएका ५० भन्दा बढी महिला र बालबालिकालाई पहिलो चरणमा मुक्त गर्ने भएको छ भने इजरायलले चार दिन युद्धविारम गर्ने भएको छ ।

    यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ–‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’



    बन्धक बनाइएकाहरुलाई रिहा गरिसकेपछि भने हमासलाई सफाया गर्ने सैन्य अभियान फेरि सुरु हुने इजरायलले जनाएको छ । हमासले मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको छ । यस सहमतिका लागि मध्यस्थता गरेको भन्दै हमासले कतार र इजिप्टप्रति आभार व्यक्त गरेको छ ।



    सोमबारदेखि नै इजरायल सरकार र हमास युद्धविरामका लागि सहमति नजिक रहेका समाचारहरु सार्वजनिक भएका थिए । युद्धविराम र बन्दी रिहाइ सम्बन्धी प्रस्ताव इजरायलको मन्त्रिपरिषदबाट पारित भएपछि हमासको कब्जामा रहेका करिब दुई सय जनाको रिहाइ प्रक्रिया सुरु हुने बताइएको छ । यसैअन्तर्गत पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ५० जना रिहा हुनेछन् ।

    सहमतिअनुसार हमासले यी बन्दीहरु मुक्त गरेवापत इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ।

    अक्टोबर ७ (असोज २० गते) मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट २६ विदेशी मुलुकका नागरिक र इसराइली नगारिक गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेको थियो।

    अरु बन्दीहरु कहिले छाडिने भन्ने प्रष्ट नभएपनि पहिलो चरणका ५० बन्दी मुक्त भएपछि इसराइलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

    हमासले सबै २३९ बन्दी मुक्त गरेवापत इसराइलले पनि आफ्नो हिरासतमा रहेका १५० जना प्यालेस्टिनियन नागरिकहरुलाई मुक्त गर्ने सहमति भएको जनाइएको छ। तर सो सहमतिबारे इसराइल सरकारले केही भनेको छैन।

    हमासले बन्दी बनाएका आफन्तजनहरु चाँडै फर्केर आउने अपेक्षामा इसराइल र संसारका विभिन्न मुलुकमा परिवारहरु व्यग्र प्रतिक्षामा छन्। यी बन्दीहरु छुटाउन अमेरिका सहित हमाससँग राम्रो सम्वन्ध भएको कतारले पनि महत्वपुर्ण भूमिका खेलेका थिए।

    इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यसलाई हमास–इसराइल युद्ध अन्त्य भएको नठान्न भनेका छन्। ‘हामी युद्धमै छौं। हाम्रो उद्धेश्य पूरा नभएसम्म युद्ध जारी रहन्छ,’ उनको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

    अक्टोबर ७ को बिहानै प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमाथि जमिन र आकाशबाट आक्रमण गरेका थिए। हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको मृत्यु भएको थियो।

    आक्रमणका दिन हमासले त्यहाँबाट इसरायली र अन्य देशका गरी २३९ जनालाई बन्दी बनाएर गजा लगेका थिए। बन्धक बनाइएकामा नेपालका विपिन जोशी पनि छन्। इजरायल सरकारले जोशी पनि हमासको नियन्त्रणमा रहेको जनाएपनि उनको अवस्था थाहा हुन सकेको छैन ।

    त्यसयता इसराइलले गजामा हमासविरूद्ध लगातार आक्रमण गर्दै आइरहेको छ। उसले गजाबाट हमासलाई सखाप पार्ने घोषणा गर्दै आएको छ। इसराइलको आक्रमणबाट गजामा अहिलेसम्म १३ हजार ३ सय प्यालेस्टिनियन नागरिकहरूको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ।

    ठूलो संख्यामा नागरिकहरू मारिएपछि गजामा युद्धविराम गर्न इसराइलमाथि अन्तराष्ट्रिय शक्तिकेन्द्रहरूको दबाब बढिरहेको थियो। संयुक्त राष्ट्रसंघले पनि इसराइललाई गजामा युद्धविराम गर्न आग्रह गरेको थियो। – एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार