Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चिनियाँ नयाँ वर्षमा हङकङमा ‘एलजी नाइट १६’ हुँदै

    चिनियाँ नयाँ वर्षमा हङकङमा ‘एलजी नाइट १६’ हुँदै

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को अवसरमा हङकङमा क्रियाशील नेपालीको संस्था ‘लालीगुराँस एसोसिएसन’ले ‘एलजी नाइट १६’को आयोजना गर्ने भएको छ । फेब्रुअरी ११ मा हुने उक्त कार्यक्रम विगतमा झैँ भव्य रूपमा सम्पन्न गर्ने तयारीमा आयोजक संस्था जुटेको छ।

    लालीगुराँस एसोसिएसनले हरेक चिनियाँ नयाँ वर्षको अवसर पारेर हङकङमा ‘लालीगुराँस नाइट’ आयोजना गर्दै आइरहेको छ। कोभिड–१९ महामारीका कारणले बीचमा चार वर्ष कार्यक्रम गर्न नसकेको संस्थाले यसअघि सन् २०१९ मा १५औँ एलजी नाइट सम्पन्न गरेको थियो ।



    चेतन गुरुङ, विशाल गुरुङ, हिमाल रानालगायत हङकङका जुझारु नेपाली युवाले सन् २००४ मा हङकङमा ‘लालीगुराँस एसोसिएसन’ नामक संस्थाको स्थापना गरेका थिए। उनीहरुले नै एलजी नाइटको आयोजना गर्दै आएका छन् ।



    आयोजकमध्येका चेतन गुरुङ यो वर्ष पनि कार्यक्रम भव्य र सब्य हुने दावी गर्छन् । उनी भन्छन्–‘यसको छनक देखिसक्यो । कार्यक्रम हुन करिब एक महिना बाँकी छँदै सबै टिकट बिक्री भइसक्यो । यो भनेको हङकङका नेपाली एलजी नाइटको व्यग्र प्रतीक्षामा छन् भन्ने शुभ संकेत हो।’

    विदेशी भूमिमा आफ्नो कला–संस्कृतिलाई जोगाइराख्ने संस्थाले मूल ध्येय राखेको उनको भनाई छ। चिनियाँ नयाँ वर्षमा हुने लामो बिदामा चिनियाँहरू आफ्नो संस्कृतिमा रमाइरहँदा नेपालीले पनि आफ्नै संस्कृतिमा रमेर बिदा मनाऊन् भन्ने उद्देश्य संस्थाले राखेको गुरुङ बताउँछन् ।

    कार्यक्रमबाट भएको अर्थोपार्जन नेपालका परोपकारी संस्थामार्फत विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिएको पनि गुरुङले बताए । संस्थाले २०७२ सालको भूकम्पको बेला गोरखा, धादिङ तथा सिन्धुपाल्चोकमा राहत वितरण गरेको थियो। त्यस्तै, पोखरा तथा दमौलीमा उपचाररत भूकम्पपीडित घाइतेलाई औषधोपचारको व्यवस्था गरेको थियो।

    त्यतिखेर विभिन्न शीर्षकमा संस्थाले २ करोड रुपैयाँ खर्च गरेको गुरुङ बताउँछन्। त्यो रकममध्ये केही कार्यक्रमबाट बचेको पैसा र बढी मात्रामा चन्दामार्फत जुटाइ सहयोग गरेको उनको भनाइ छ।

    यस पटक पनि संकलित रकमबाट सबै खर्च कटाइ बचेको पैसा परोपकारी संस्थालाई सहयोग गर्ने योजना रहेको उनले बताए। लालीगुराँस नाइटमा नेपालको कलाकारिता क्षेत्रमा चर्चा कमाएका साथै, भारतबाट ख्याति कमाउन सफल नेपाली कलाकारलाई पनि समेट्ने गरिएको छ ।

    यसपटकको कार्यक्रममा सहभागी हुने २२ जना कलाकारको टिममा भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामा र इन्डिया डान्सबाटै चर्चामा आएका साजन सिंह पनि सहभागी हुनेछन्।

    साजनको एलजी नाइटमा यो तेस्रो आगमन हुनेछ। त्यस्तै, चितवनको रत्ननगर नगरपालिका–१३ निवासी समर्पण लामाले गत असोजमा ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि हात पारेका थिए।

    त्यस्तै कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु मनोज गजुरेल, जितु नेपाल, प्रमोद खरेल, प्रकाश सपुत, चिज गुरुङ, देवी आले, कविता नेपाली, प्रगती पुनलगायत सहभागी हुने छन् ।

    नेपाली कलाकारहरू कविता नेपाली र प्रगती पुनको नृत्य पनि दर्शकले हेर्न पाउनेछन्। टेलिभिजन रियालिटी शो ‘बुगीवुगी’को पहिलो सिजनकी विजेता कविताले यसअघिका दुईवटा कार्यक्रममा पनि हङकङका दर्शकसामु आफ्नो नृत्य देखाइसकेकी छन्।

    युनलङ थिएटरमा हुने कार्यक्रम बेलुका साढे सात बजेबाट सुरु हुने गुरुङ बताउँछन्। प्रवेश शुल्क साधारणतर्फ तीन सय हङकङ डलर रहेको छ भने भीआईपी पाँच सय र भीभीआईपीको एक हजार हङकङ डलर छ। यसअघिका कार्यक्रममा झैँ यसपटक पनि जितु नेपालले कार्यक्रम सञ्चालन गर्नेछन् ।

    एलजी नाइट १६ का लागि कलाकारहरू १० फेब्रुअरीमा हङकङ आइपुग्ने आयोजक संस्थाले जनाएको छ । ४ दिनसम्म हङकङमा रहने कलाकारको पारिश्रमिकदेखि आउजाउ र हङकङमा रहँदाको खर्च ४ लाख हङकङ डलर हुने अनुमान गरिएको आयोजक चेतन गुरुङ बताउँछन्।

    स्थापनाकालदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लालीगुराँस एसोसिएसनको ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, मकाउ, जापानलगायतका देशमा पनि हुँदै आएको छ।

    दुई महिनाअगाडि यूकेमा भयो। आगामी वैशाख १ गते नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलिया र वैशाख १ मै लालीगुराँस एसोसिएसन र एनआरएनए मकाउको संयुक्त आयोजनामा मकाउमा ‘एलजी नाइट’ हुने तय भएको संस्थाका संस्थापक चेतन गुरुङले बताए। त्यस्तै, यसै वर्ष जापानमा पनि कार्यक्रम हुनेछ। अमेरिकाको लागि पनि तयारी भइरहेको गुरुङ बताउँछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार