Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • माधव नेपालको सत्तोसराप गर्नेलाई आलेले गरे पुरस्कृत, पर्यटन बोर्डको सदस्य नियुक्तिमा ४० लाखको खेल

    माधव नेपालको सत्तोसराप गर्नेलाई आलेले गरे पुरस्कृत, पर्यटन बोर्डको सदस्य नियुक्तिमा ४० लाखको खेल

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 3K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गरेका नियुक्ति एकपछि अर्को विवादमा परेका छन् । पछिल्लो पटक गरिएको पर्यटन बोर्डको सदस्य नियुक्ति चरम विवादमा परेको छ ।

    बैंक डकैतीदेखि अवैध लागूऔषध कारोबारमा सजाय भोगेका लिला भन्ने टासी लामालाई गरिएको बोर्ड सदस्य नियुक्ति पनि विवादमा परेको हो । बोर्डका रिक्त दुई सदस्य नियुक्तिका लागि आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा राजेन्द्रप्रसाद सापकोटा र माया शेर्पा सदस्य रहेको छनोट समिति बनाएका थिए ।



    समितिका संयोजक लुईंटेल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शक्तिशाली कर्मचारीमा पर्दथे । उनले रोजेको जिल्लामा सीडीओ हुने मौका पाएका थिए । लुईंटेल ओली निकट सहसचिवका रुपमा चिनिन्छन् । त्यस्तै सदस्य रहेका सापकोटा एमाले महाधिवेशन प्रतिनिधि हुन् । सापकोटाले एमालेबाट विभाजन भएर नेकपा समाजवादी गठन भएपछि सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष माधवकुमार नेपाल र पार्टीका विरुद्ध विषवमन नै गरेका थिए ।



    माधव नेपाल र नेकपा समाजवादीलाई गालीगलौज गर्ने तिनै सापकोटालाई आलेले पर्यटन बोर्डको सदस्य नियुक्ति सिफारिस समितिमा राखेकोमा पार्टीभित्रै उनको चर्को आलोचना भइरहेको छ । राजेन्द्र सापकोटा एमाले निकट पर्यटन व्यवसायी संगठनको नेतृत्वमा पनि रहँदै आएका छन् । पर्यटन व्यवसायीबीच उनको छवि राम्रो छैन । एमालेका महाधिवेशन प्रतिनिधि सापकोटालाई आलेले कुन बाध्यताले बोर्ड सदस्य सिफारिस समितिमा सदस्य बनाए ? भनेर समाजवादी पार्टीभित्र बहस हुन थालेको छ ।

    बोर्डको सदस्य सिफारिस समितिका अर्का सदस्य माया शेर्पा पनि एमालेकी कार्यकर्ता हुन् । उनलाई असोज २२ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।

    आलेले नियुक्ति गरेका छनोट समितिका सदस्य सापकोटाले बोर्ड सदस्य नियुक्तिका लागि पर्यटन व्यवसायीहरुबीच लिलाम बढाबढ शुरु गरे । स्रोतका अनुसार शुरुमा एमडी एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रा.लि.का लिला लामासँग २० लाखमा पर्यटन बोर्डको सदस्य बनाउने गरी डिल गरे । लामाले बैना वापत केही रकम सापकोटालाई दिएको स्रोतले बतायो । स्रोतका अनुसार सापकोटाले लामासँग डिल गरिसकेपछि पेम्बा शेर्पाले विचौलियामार्फत ४० लाखको अफर गरे । शेर्पाले बोर्ड सदस्य नियुक्तिका लागि ४० लाखको अफर गरेपछि सापकोटा र विचौलियाले लामाको नियुक्ति नगर्न मन्त्री आलेसमक्ष हारगुहार गरे ।

    पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले सापकोटा र विचौलियाको चलखेल थाहा पाएपछि लामालाई नै नियुक्ति गरिदिए । दुई सदस्यका लागि पाँच जनाको सिफारिस गरेकोमा मदन आचार्य समाजवादी पार्टीकै भएकाले उनको बारेमा प्रश्न उठेको छैन । तर, लामासँग डिल गरिसकेको अवस्थामा शेर्पाको नाम अगाडि ल्याएपछि उपाध्यक्ष रिजाल सशंकित भए । विचौलियाको चलखेल बुझेपछि उनले चिनेकै व्यक्ति भएकाले लामालाई नियुक्ति गराए । मन्त्री आले निकट स्रोतका अनुसार शेर्पासँग ४० लाख असुलिसकेको सापकोटाको समूह लामा नियुक्ति भएपछि तिल्मिलाउन पुग्यो । लामाको नियुक्ति रोकाउन अनेक हत्कण्डा प्रयोग गर्न थाले । तर, लामाले नियुक्ति बुझिसकेकाले उनले राजीनामा नदिएसम्मम अर्को नियुक्ति हुन सक्दैन ।

    शेर्पासँग आर्थिक लेनदेन गरिसकेपछि नियुक्ति गर्न नसक्दा सिफारिस समितिका सदस्य राजेन्द्र सापकोटा भागेर हिडेको बोर्डका एक कर्मचारीले अनलाईन नेपालसँग बताए । उनी अहिले बोर्ड सदस्य चन्द्र रिजालकाविरुद्ध गालीगलौज गर्दै विगतमा आफूले सहयोग गरेको बदलामा धोका दिएको भन्दै हिंडेका छन् । शेर्पाबाट लिएको घुस फिर्ता गर्नुपर्ने अवस्था सृजना भएको छ । यद्यपी उनी अझै पनि मन्त्री आलेलाई विश्वासमा लिएर शेर्पालाई नियुक्ति गराउँछु भन्दै थामथुम पारिरहेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार