Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अति मोटा र दुब्ला सशस्त्र प्रहरी शान्ति मिसनमा जान नपाउने

    अति मोटा र दुब्ला सशस्त्र प्रहरी शान्ति मिसनमा जान नपाउने

    १५ वर्ष सेवा अवधि पूरा गरेको हुनु पर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 807
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघको मातहत शान्ति मिसनमा खटिने कर्मचारीको छनोटका लागि सशस्त्र प्रहरीले नयाँ निर्देशिका बनाएको छ । छनोटलाई पूर्ण रूपमा निष्पक्ष बनाउने उद्देश्यले नयाँ निर्देशिका लागू गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    गत साता गृह मन्त्रालयबाट स्वीकृत भएको निर्देशिकाअनुसार मिसनको छनोटलाई पूर्ण रूपमा ज्येष्ठताका अधारमा छनोट हुनेछ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट (एफपीयू) को रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूका लागि सशस्त्र प्रहरी बल नेपालले कम्तीमाा १५ वर्ष सेवा अवधि पूरा गरेको मापदण्ड निर्धारण गरिएको छ ।



    मिसनमा सहभागी हुने सशस्त्र प्रहरी कर्मचारीहरूको छनोट प्रक्रिया अझै निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले संशोधन गरिएको ‘यूएन एफपीयू मिसन छनोट निर्देशिका– २०७९’ले लामो समयसम्म सेवा अवधि पूरा गरी मिसनमा अवसर नपाएका कर्मचारीहरू बढी लभान्वित हुने सहायक प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले दाबी गरे।



    यसअघि ‘यूएन एफपीयू मिसन छनोट निर्देशिका–२०७१’ अनुसार न्यूनतम ५ वर्ष सेवा अवधि पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीसमेत मिसनमा सहभागी हुँदै आएका थिए।

    पहिले सेवामा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीले यस्ता प्रकारका अवसर पाउनुपर्छ भन्ने उद्देश्य र देशभरिका इकाईमा कार्यरत कर्मचारीबाट प्राप्त सुझाबअनुसार निर्देशिका परिमार्जन गरिएको सहायक प्रवक्ता थापाले बताए।

    यसका साथै सशस्त्र प्रहरी कर्मचारीहरूले सशस्त्र प्रहरी बलले हालैमात्र लागू गरेको बडी मास इन्डेक्स (बीएमआई) का आधारमा स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधि, २०७९ अनुसारको मापदण्डमा समेत अनिवार्य रूपमा उतीर्ण हुनुपर्ने छ । जसअनुसार उचाइ अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा कर्मचारी यस अवसरबाट बञ्चित हुनुपर्नेछ ।

    ‘समान मितिमा भर्ना तथा पदोन्नति भएका कर्मचारीको हकमा अभिलेखमा उल्लेखित भर्ना तथा पदोन्नतिको जेष्ठताक्रमअनुसार छनोट गर्ने प्रावधान राखिएको छ। मापदण्ड पूरा भई विभागीय कारबाही भएको भए कारबाही नभएका कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी छनोट गरिने तर पछिल्लो भर्ना तथा पदोन्नति मिति भएका कर्मचारीसँग छनोट गर्नुपर्ने भएमा यो प्रावधान लागू गरिने छैन’,थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    मिसन छनोटपश्चात सञ्चालन हुने तैनाथी पूर्वतालिममा सैद्धान्तिक एवं व्यवहारिक रूपमा लिइने स्तरपरीक्षामा अनुत्तिर्ण भएमा वा सो तालिममा १५ दिनभन्दा बढी अनुपस्थित भएमा र आचरणविपरीतको कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूको मिशन सहभागिता रद्द गरिने निर्देशिका उल्लेख छ ।

    यो निर्देशिका लागू भएसँगै भर्खरै सेवा प्रवेश गरेका सशस्त्र प्रहरी कर्मचारीहरू मिसनमा सहभागी भइरहँदा लामो समय सेवा गर्ने कर्मचारीहरू सहभागिताबाट बञ्चित हुनेलगायतका गुनासोहरू नआउने सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार