Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

    उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.3K
    SHARES

    मस्को । उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो बख्तरबन्द रेल चढेर आइतबार रुसबाट प्रस्थान गरेको रूसी समाचार एजेन्सीहरूले जनाएका छन् ।

    कोरोना भाइरस महामारीपछि किमको पहिलो औपचारिक विदेश भ्रमणले मस्को र प्योङयाङले प्रतिबन्धको अवज्ञा गर्ने र हतियार सम्झौता गर्ने पश्चिमाहरूको डरलाई बढावा दिएको छ ।



    रिया नोभोस्ती एजेन्सीले किमको प्रस्थानको भिडियो प्रकाशित गरेको छ । र, आर्ट्योम–प्रिमोरस्की–१ स्टेसनमा ‘प्रस्थान समारोह’ आयोजना गरिएको बताएको छ । तास समाचार एजेन्सीले किमको रेल लगभग २५० किलोमिटर (१५५ माइल) सीमातर्फ गइरहेको बताएको छ ।



    फुटेजमा किमले प्राकृतिक संसाधनमन्त्री अलेक्जेन्डर कोज्लोभको नेतृत्वमा रहेको रुसी प्रतिनिधिमण्डललाई आफ्नो रेलबाट बिदाइ गर्दै रूसी मार्च ‘स्लाभियान्काको बिदाइ’ बजाइनुअघि रेल प्रस्थान गरेको देखिन्छ ।

    यसअघि, आइतबार तासले किमलाई क्षेत्रीय गभर्नरबाट उपहारस्वरुप पाँचवटा विष्फोटक ड्रोन, एक टोही ड्रोन र एक बुलेटप्रुफ भेस्ट प्रदान गरिएको जनाएको थियो ।

    उत्तर कोरियाको आधिकारिक नाम प्रयोग गर्दै तासले भनेको छ, “उत्तर कोरियाका नेतालाई पाँचवटा ड्रोन उपहार दिइएको छ ।”

    चीन र उत्तर कोरियाको सिमानामा रहेको प्रिमोरी क्षेत्रका गभर्नरले किम जोङ उनलाई ‘बुलेटप्रुफ सुरक्षाको एक सेट’ र ‘थर्मल क्यामेराले पत्ता लगाउन नसक्ने विशेष लुगा’ पनि प्रस्ताव गरेको तासले जनाएको छ ।

    उनले शनिबार भ्लादिभोस्तोकमा रूसी रक्षामन्त्रीलाई भेटेका थिए । त्यहाँ उनले हाइपरसोनिक मिसाइल प्रणालीलगायत अत्याधुनिक हतियारको निरीक्षण गरेका थिए ।

    मङ्गलबारदेखि सुरु भएको रूसको सुदूर पूर्वी क्षेत्रको किमको विस्तारित भ्रमण सैन्य मामिलामा केन्द्रित भएको अनुमान गरिएको छ ।

    राष्ट्रपति भ्लादिमिर पुटिनसँग राइफलको सांकेतिक आदानप्रदान र कोम्सोमोल्स्क–अन–अमूरमा लडाकु जेट कारखानाको भ्रमणबाट यसलाई थप प्रमाणित गर्न आधार दिन्छ ।

    मस्कोले युक्रेनमा युद्ध जारी राख्न उत्तर कोरियाली गोलाबारुद खरिद गर्न इच्छुक रहेको विश्वास गरिन्छ । प्योङयाङले आफ्नो अन्तर्राष्ट्रियस्तरको निन्दा गरिएको क्षेप्यास्त्र कार्यक्रम विकास गर्न रूसको सहयोग चाहेको छ ।

    क्रेमलिनले कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको र नगर्ने बताएको छ । किमले आइतबार भ्लादिभोस्तोकमा अध्ययनरत उत्तर कोरियाली विद्यार्थीसँग पनि भेटवार्ता गरेका थिए ।

    उत्तर कोरियाली समाचार संस्था केसीएनएले अधिकारीहरूलाई उद्धृत गर्दै किमको भ्रमणको माहोललाई ‘उत्कट र न्यानो’ भन्दै उत्तर कोरिया र रूसबीच ‘मित्रता, ऐक्यबद्धता र सहयोगको नयाँ युग’ सुरु हुन लागेको जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार