Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्वास्थ्यमन्त्री यादवको पहिलो कामः विवादास्पद उपसचिव खतिवडालाई पीए नियुक्त

    स्वास्थ्यमन्त्री यादवको पहिलो कामः विवादास्पद उपसचिव खतिवडालाई पीए नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 870
    SHARES

    काठमाडौं । चौथो वरियताका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निजी सचिवमा विवादास्पद छविका भवनाथ खतिवडालाई नियुक्ति गरेका छन् । खतिवडालाई यादवले पदबहाली गरेको भोलिपल्टै नियुक्ति प्रक्रिया थालेका थिए ।

    निजी सचिवमा खतिवडालाई ल्याउनका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशक संगीता मिश्रले पनि सिफारिस गरेको बताइन्छ । विभागमा कर्मचारी प्रशासन शाखाको प्रमुखका रुपमा रहेका खतिवडालाई मन्त्रीको निजी सचिव बनाउन सके आफ्नो महानिर्देशक पद सुरक्षित हुने अनुमानका साथ उनले जोडबल गरेकी हुन् ।



    मिश्रलाई यसअघिका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले औषधि उपकरण आपूर्तिकर्ताको लगानीमा महानिर्देशक बनाएका थिए । सोहीकारण स्रोत सुनिश्चितताविना नै अरबौंको ठेक्का बस्नेतका पालामा भएको छ ।



    स्वास्थ्यमा विगत १० बर्षदेखि कहिले मन्त्रीको निजी सचिव त कहिले प्रशासन शाखामा बसी कर्मचारी सरुवादेखि ठेक्कापट्टामा सेटिङ गर्ने मामिलामा अनुभवी र पोख्त खतिवडा यसअघि उनै यादवको पीए भएका थिए । मन्त्रालयको योजना शाखामा हुँदा प्रिपेड घुस लिएर संघसंस्थालाई योजना पार्ने गरेको आरोप समेत खतिवडामाथि लागेको छ ।

    उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत केही समय बसेपछि भ्रष्टाचार कसरी गर्ने र कसरी मिलाउने भनेर दिब्यज्ञान पाएपछि पुनः स्वास्थ्यमा कमब्याक भएका हुन् । बीचमा अख्तियार लगायतका केही कार्यालयमा सरुवा भए पनि १० बर्षमा अधिकांश समय स्वास्थ्य मन्त्रालय अन्तर्गत नै कार्यरत छन् ।

    २०७४ मा दीपक बोहरा स्वास्थ्य मन्त्री हुँदा उनको निजी सचिव भएका खतिवडाले उक्त मन्त्रालयमा मच्चाएको घुस आतंकले कर्मचारीहरु त्रसित थिए । मन्त्रालय अन्तर्गतका सरुवादेखि विदेश मनोनयनमा समेत उनले मन्त्री बोहराको निर्देशनमा घुसको डिल गर्ने गर्दथे ।

    दीपक बोहराका पीए बसेका खतिवडा त्यसपछि मन्त्री बनेका उपेन्द्र यादवका पनि प्रियापात्र भए । यादवले उनको घुस असुलीको शैलीका कारण उनलाई पीए नै राखेका थिए । यादव मन्त्रीबाट बाहिरिएपछि स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त पदमा अर्यालको निजी सचिव बन्न अनेक प्रयत्न गरे ।

    झापा घर भएको र एमाले भएको प्रमाणसमेत पेश गरे । तर स्वास्थ्यका अर्का रैथाने उपसचिव लीलाराज पौडेलका कारण उनको झुटो विवरण पेश गरी निजी सचिव बन्ने चाहना पूरा हुन सकेन । र, स्वास्थ्यबाट सरुवा भए ।

    स्वास्थ्यबाट सरुवा भएपछि २०७७ भदौमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा खाँदबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरेको थियो ।

    तर उनले उक्त सरुवालाई अटेर गर्दै अख्तियारबाट सरुवा सहमति ल्याए । अख्तियारका तत्कालीन सचिव सुरेश अधिकारीलाई गुमराहमा पारी उनले पत्र ल्याए पनि सामान्यले उनले खटाएको ठाउँमा नजानका लागि सहमति मागेको बिषय जानकारी गराएपछि आयोगले रद्द गरिदिएको थियो ।

    अख्तियारले उनको घुस्याहा चरित्र थाहा पाएपछि सहमति रद्द गरे पनि उनी खटाएको कार्यालय खाँदबारी नगरपालिकामा गएका थिएनन् । तिनै अटेरी उपसचिव खतिवडा उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य मन्त्री भएपछि पुनः उनको निजी सचिव बन्न सफल भएका छन् ।

    धेरैले उनलाई कांग्रेसनिकट उपसचिव शोभाकर रेग्मीको चरित्रसँग मेल खाने भनेर चर्चा गर्ने गर्दछन् । उनी पुनः निजी सचिव भएपछि पुराना सप्लायरदेखि लिएर कर्मचारीहरु अब सेटिङको धन्दा सुरु हुने भयो भनेर दंग परेका छन् ।

    जहाँ खतिवडा त्यहाँ विवाद र अनियमितता
    उपसचिव भवनाथ खतिवडा पूर्वसचिव धरणीधर खतिवडाका आफन्त भएकाले सधैं मालदार ठाउँमा मात्रै कार्यरत रहने अवसर पाए । मन्त्रीको निजी सचिव, ओमनको श्रम सहचारी भएका उनी जागिर खाएदेखि काठमाडौंमै मात्र रजगज गर्ने उपसचिवमा पर्दछन् ।

    २०७५ मंसिरमा समायोजन ऐन आउनै लागेको बेलामा खतिवडाले स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग मिलेर मोलमोलाईका आधारमा चौथो तहदेखि सातौं तहसम्मका २ हजार भन्दा बढी कर्मचारीको सरुवामा करोडौं रकम उठाएको आरोप उनीमाथि लागेको थियो ।

    रिक्त ठाउँमा सरुवा गर्दा विवाद हुँदैनथ्यो । तर समायोजन ऐन छिट्टै आउन लागेको बेलामा विभागका तत्कालीन महानिर्देशक डा। गुणराज लोहनी र खतिवडाले २ हजार भन्दा बढी कर्मचारीको सरुवा गरेका थिए ।

    दीपक बोहरा र उपेन्द्र यादवको निजी सचिव हुँदा खतिवडाले मन्त्रालयमा कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिने गरेका थिए । कर्मचारी भएर कर्मचारीको बचाउ गर्नुपर्नेमा मन्त्री दीपक बोहराभन्दा एक कदम अघि बढेर दुःख दिने काम गरेको आरोप खतिवडामाथि लागेको थियो ।

    दीपक बोहराको नाममा खतिवडाले स्वास्थ्यका हरेक कार्यालयहरुमा घुस मागेर हैरान पारेको समाचार नै सार्वजनिक भएको थियो ।

    खतिवडाले मागे अनुसार पैसा नदिए कर्मचारीलाई बोलाउने, थर्काउने र नदिए चिट्ठी काट्ने गरेका थिए । अख्तियारमा समेत कार्यरत उपसचिव खतिवडाले पैसा नदिए एउटा एउटा बहाना बनाएर कारबाही किन नगर्ने भन्दै घन्टे पूर्जी थमाउने गरेको आरोप समेत लागेको छ ।

    सुशासनको पक्षमा नवगठबन्धन रहेको भनेर ८ बुँदेमा हस्ताक्षर नै गरेर सरकारमा सहभागी भएका यादवले भ्रष्ट प्रवृत्ति र छविका खतिवडालाई भित्र्याएर कस्तो सन्देश दिन खोजेका हुन् ? गम्भिर प्रश्न उब्जिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार