Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गुण्डा र प्रहरीकै संरक्षणमा एग्रोको नाममा पोखरामा करोडौं ठगी

    गुण्डा र प्रहरीकै संरक्षणमा एग्रोको नाममा पोखरामा करोडौं ठगी

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 5.4K
    SHARES

    पोखरा । गुण्डा नाइकेद्वय दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि सुस्त भएका गुण्डाहरु फेरि सल्बलाउन थालेका छन् । काठमाडौंको ठमेलमा घैंटे समूहका युवराज घले उर्फ सानोभाइले क्लव सञ्चालकलाई कुटपिट गरेको घटना सेलाउन नपाउँदै पोखराका व्यवसायीमाथि गुण्डा आतंक बढेको छ ।

    हातहतियार, लागूऔषध तथा बैंक लुटपाट मुद्दामा जेल सजाय भोगेर एक वर्ष अघि छुटेका गुण्डा नाइके विक्रम लामाले पोखरामा व्यवसायीमाथि आक्रमण गर्दा समेत उनलाई प्रहरीले पक्राउ गरेको छैन ।



    रिठ्ठेपानीमा रहेको रेशम एग्रो इन्डस्ट्रीज प्रा.लि.का सञ्चालक रेशम कुमालले बैंक, सहकारी र विभिन्न व्यक्तिहरुसँग गरी झण्डै ३५ करोड उठाएर तिर्नुपर्ने व्यक्तिहरुलाई गुण्डा नाइके लामामार्फत धम्की दिंदै आएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा केही पीडितहरुले उजुरी दिएका छन् ।



    विभिन्न बहानामा एग्रोको नाममा पैसा उठाएर अन्तै लगानी गरी कम्पनी घाटामा देखाई कुमालले गुण्डागर्दी शैलीमा पैसा फिर्ता नगरेको एक पीडितले अनलाइन नेपालसँग बताए । कुमालले कहिले दिपक मनाङेलाई हातमा लिएर त कहिले गत वर्ष जेलबाट छुटेका विक्रम लामालाई सँगै राखेर ऋण तिर्नुपर्ने व्यक्तिहरुलाई तर्साउने गरेको पीडितको भनाई छ ।

    कुमालले माइकल गुरुङबाट ३ करोड, ऋषी चापागाईंबाट ५ करोड ८५ लाख, सहिबहादुर गुरुङबाट ६५ लाख, अर्जुन सापकोटाबाट ५० लाख, हरीराम भण्डारी र उनका पार्टनरबाट गरी २ करोड तथा अर्का व्यवसायी सञ्जय पौडेलसँग ४ करोड ५० लाख लिएर साँवा ब्याज फिर्ता गरेका छैनन् ।

    त्यसैगरी कुमालले मीन भण्डारीबाट १ करोड ५० लाख, राधिका कुमालबाट ४० लाख, सीए समेत रहेका प्रकाश अधिकारीबाट ३३ लाख र प्रमोद अधिकारीबाट २ करोड ३४ लाख पनि फिर्ता गरेका छैनन् । अधिकारी लगायतका केही व्यक्तिले अदालतमा मुद्दा हालेर कुमाल र एग्रोको नाममा रहेका केही सम्पत्ति रोक्का गरेका छन् भने केही भवनमा उनै विक्रम लामाले कब्जा जमाएर बसेका छन् । त्यस्तै विष्णु प्रसाद गुरुङ र धिरज कुमार श्रेष्ठले लगानी गरेको रकम पनि फिर्ता पाएका छैनन् ।

    एग्रोमा रेशम कुमालको २८ प्रतिशत, प्रकाश बस्नेतको २८ प्रतिशत तथा विष्णु, र कृष्ण कुमालको १४–१४ गरेर २८ प्रतिशत शेयर रहेको छ ।

    कुमालले बैंकिङ लोनको काम गरिदिने भन्दै कुमाल परिवारकै समेत जग्गा बैंकमा राखेर करोडौं रकम लिएको अर्का एक पीडितले बताए । दाना उद्योगको स्ट्रक्चर बनाएर बैंकबाट पैसा निकालेका कुमालले बैंकमा पनि पैसा तिरेका छैनन् । किस्ता नबुझाएपछि माछापुच्छ«े बैंकले कुमालको गाडी समेत तानेको छ । विक्रम लामाले पनि एग्रोमा लगानी गरेको भन्दै कुमालकै घर कब्जा गरी उनैलाई संरक्षण गरिरहेका छन् ।

    कुमालले माछापुच्छ«े बैंक, रिठ्ठेपानी सहकारी, रोयल पोखरा बचत तथा ऋण सहकारी, उन्नती बचत तथा ऋण सहकारी, सूर्य दर्शन सहकारी, अर्घौं सहकारी, जलधारे सहकारी र पोखरा फाइनान्सलगायतका वित्तिय संस्थाहरुबाट २२ देखि २५ करोड जती ऋण लिएको खुलेको छ । एग्रोका कर्मचारी शैलेश श्रेष्ठ र सिद्धान्त अधिकारीले बैंक र सहकारीबाट ऋण मिलाउन रेशम कुमाललाई सहयोग गर्दै आएका छन् ।

    पीडितहरुले पैसा माग्दा कुमालले ‘म पैसा दिन सक्दिन बरु जेल जान्छु’ भन्दै विक्रम लामालाई अगाडी तेस्र्याउने गरेका छन् । यद्यपी विक्रम लामाले भने आफूले कसैलाई नधम्क्याएको र कुमालको घर पनि कब्जा नगरेको बताएका छन् । लामाले आफूले पनि कुमाललाई पैसा दिएको र उक्त पैसा फिर्ता नपाएपछि कुमालले नै आफूलाई घर दिएको बताएका छन् ।

    यता, कुमालले रकम फिर्ता गर्नुको साटो उल्टै धम्क्याउने काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको छ । अनलाइन नेपालका पोखरा सम्बाददाताका अनुसार  जिल्ला प्रशासन कार्यालय कास्कीमा साउन २२ गते शान्ति सुरक्षा कायम गरी आवश्यक कारबाही गरीपाउँ भन्दै उजुरी परेको छ ।

    कास्की प्रशासनले पनि साउन २३ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र पठाई दोषीलाई पक्राउ गरी पीडितलाई शान्ती सुरक्षा दिलाउन निर्देशन दिइसकेको छ । केही पीडितहरुले कुमाल र लामा समूहको धम्की तथा आतंकको बारेमा मौखिक रुपमा प्रशासनलाई जानकारी दिएका छन् भने केहीले लिखित रुपमै उजुरी दिएका छन् । अनलाइन नेपालको सम्पर्कमा आएका केही पीडितहरु बोल्न चाहेनन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले भने उक्त घटना र प्रशासनबाट आएको पत्रबारे आफूलाई जानकारी नभएको अनलाइन नेपालसँग बताए । जवकी साउन २३ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रशासनले पठाएको पत्र दर्ता भएको प्रमाण अनलाइन नेपालसँग सुरक्षित छ । घटनाबारे एग्रोका सञ्चालक कुमालसँग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार