Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सशस्त्रको तस्करी रोक्न खटाएको टोलीमा विवादित घुमुवाको बाहुल्य

    सशस्त्रको तस्करी रोक्न खटाएको टोलीमा विवादित घुमुवाको बाहुल्य

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 14.2K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएपछि राजु अर्यालले भारतसँग सीमा जोडिएका २१ वटा जिल्लामा सादा पोशाकमा घुमुवाहरु खटाउन नपाउने परिपत्र गरे ।

    भारतसँग सीमा जोडिएका जिल्लादेखि सबैतिर सादा पोशाकमा घुमुवा खटाउन नपाउने उक्त परिपत्रपछि केही समय तराईका बाहिनी गण, गुल्म र बीओपीका इन्चार्जले त्यो निर्देशन पालना गरे ।



    तराईका जिल्लामा बाहिनी गण, गुल्म र बीओपीका इन्चार्जहरुले घुमुवा परिचालन गर्दा भन्सार छली चोरी तस्करी बढेको र राजस्व असुली नै कम भएकाले सशस्त्रका आइजीपी अर्यालले उक्त परिपत्र गरेका थिए ।



    सशस्त्र मुख्यालयको उक्त परिपत्रपछि मधेश प्रदेशमा लामो समय कार्यरत बदनाम घुमुवाहरु राजीव यादव, इमाम आलम, सन्तोष यादव लगायतको सरुवा भयो ।

    राजीवको नुवाकोट, आलमको इलाम, सन्तोष यादव सिनामंगलको हवाई उद्धार गणमा भएको थियो । लामो समयदेखि मधेश प्रदेशमा कार्यरत र गतबर्ष पहाडी जिल्लामा सरुवा गरिएका यस्ता विवादित र तस्करसँग नेटवर्क भएका घुमुवालाई मधेश प्रदेशमा अनुगमनमा पठाइएको छ ।

    यस्ता विवादित घुमुवालाई आइजीपी अर्यालको जानकारीमै मधेश प्रदेशमा पठाइएको हो कि उनको जानकारी बेगर हो ? त्यो भने खुल्न सकेको छैन । सशस्त्रको सीमा सुरक्षा विभागका डीआईजी गणेश ठाडामगरले मधेश प्रदेशको प्रमुख हुँदा घुमुवाका रुपमा परिचालन गरेका उनीहरूलाई उनले नै अनुगमनमा पठाएको आरोप छ ।

    तस्करी नियन्त्रणका लागि अनुगमनमा गएको एसपी नेतृत्वको टोली नै तस्करसँग मिलेको आरोप छ । सशस्त्र मुख्यालयले सचिवालयका एसपी भानुभक्त लम्सालको नेतृत्वमा भन्सार छली चोरी तस्करीको अनुगमनमा पठाएको छ । त्यो अनुगमन टोलीमा सरुवा भएका विवादित घुमुवाहरु राजीव यादव, इमाम आलम र सन्तोष यादव समेत छन् ।

    सीमा विभागका डीआईजी गणेश ठाडामगरको योजनामा एसपी लम्सालले विगतमा घुमुवाका रुपमा तस्करसँग सेटिङ मिलाउनेहरूलाई लगेको आरोप छ ।

    तस्करहरुसँग सेटिङ गरी अकूत सम्पत्ति कमाएको उजुरीपछि आइजीपी राजु अर्यालको बदनाम घुमुवा हटाऊ अभियानमा इलाममा सरुवा भएका सहायक हवलदार इमाम आलम, महोत्तरीबाट २० नम्बर गण सिनामंगलमा तानिएका सहायक हवलदार सन्तोष यादव, नुवाकोट सरुवा भएका राजीव यादव छन् ।

    इमाम इलाममा सरुवा भए पनि गएनन् । उनी नक्कली बिरामी भएको बहाना बनाई लामो समयदेखि सशस्त्र प्रहरी अस्पतालमा काजमा थिए । महिनौँदेखि दरबन्दीमा नगई बिरामी भनेर अस्पतालमा काज मिलाएर बसेका अनुशासनहीन आलमलाई लम्सालको टोलीमा डीआईजी ठाडामगरले नै राखेको आरोप छ ।

    अनुगमन टोलीका प्रमुख एसपी लम्साल नै पनि विगतमा विवादमा परेका अधिकृत हुन् । २०७६ मा नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–१०, पितौजीस्थित सशस्त्र प्रहरीको ३१ नम्बर गुल्मको गुल्मपति हुँदा तस्करीका सामान भनेर बरामद गरेका सामानहरू बेच्ने गरेको आरोप लम्सालमाथि लागेको थियो ।

    मधेश प्रदेशमा अनुगमनमा गएका राजीव यादव, इमाम र सन्तोषले तस्करकै लागि काम गर्ने गरेका छन् । गएको असोजमा सिरहामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले करोडौँ मूल्य बराबरका भन्सार छलीका कपडा बरामद गरेपछि ७ नम्बर गणका गणपति प्रमोद भारती तानिएका थिए ।

    सिरहामात्र होइन, धनुषा, महोत्तरी, बारा पर्सा र रौतहटमा समेत भन्सार छलीका सामान सशस्त्र प्रहरीका गणपतिदेखि बीओपीका इन्चार्जहरुले खटाएका घुमुवासँगको सेटिङमा भित्रिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार