Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मनाङका विद्यार्थी : हिउँ खेल्दै, पढ्दै

    मनाङका विद्यार्थी : हिउँ खेल्दै, पढ्दै

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 369
    SHARES

    मनाङ । मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

    विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए । उनका अनुसार विशेषगरी माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन् । उनले भने, ‘एसइईका लागि विद्यालय खुलाइसकेका छौँ । बिदा लम्बिँदा विद्यार्थीलाई समस्या हुन्छ । यसलाई मध्यनजर गरेका छौँ ।’



    उनले नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति आवासीय माध्यमिक विद्यालय फागुन १ गतेदेखि खुलेको जानकारी दिए । चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशङ्कर माध्यमिक विद्यालय माघ २३ देखि र चामे–४ चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय माघ २८ गतेदेखि पठनपाठन सुरु भएको उनको भनाइ छ ।



    यस वर्ष मनाङबाट प्रकाशज्योतिका १९, लोकप्रियका १७, अन्नपूर्ण माविका एक र लोकप्रिय माविबाट (खुला) तीन गरी ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुने प्रमुख चपाईंले बताउनुभयो । मनाङमा चारवटा मात्रै माध्यमिक विद्यालय छन् ।

    यस वर्षको एसइई परीक्षालाई मध्यनजर गरी जाडो भए पनि विद्यालय छिटो खुलाइएको प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले बताए । उनले भने, ‘एसईई परीक्षा दिने विद्यार्थीको पठनपाठनलाई लक्षित गरी विद्यालय चाँडै खुलाएका हौँ । चिसो भए पनि विद्यार्थीलाई पठनपाठनमा प्रभाव पर्नसक्ने विषयलाई मध्यनजर गरेका छौँ ।’ जाडो बिदाका समयमा पनि लमजुङको च्याम्चेमा विद्यार्थीको घरमै पठनपाठन गराइएको उनले बताए ।

    प्रधानाध्यापक पन्थीले भने, ‘आवासीय विद्यालय भएकाले लमजुङका बच्चा पनि मनाङमा पढ्न आउँछन् । मनाङको सिमानामै पर्ने च्याम्चेका केही विद्यार्थी हाम्रैमा पढ्छन् । जाडो बिदाका समयमा च्याम्चेमा घर खोजेर पढायौँ । एसइई परीक्षालाई विशेषरुपमा लिइने हुँदा हामी पनि लागिरहेका छौँ । विद्यार्थी उत्कृष्ट र सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदा हाम्रो गौरव बढ्नेछ ।’

    वार्षिक परीक्षा पनि आइसकेको र पठनपाठनमा लाग्नुपर्ने भएकाले बिहान दुई घण्टा र बेलुका दुई घण्टा तालिका बनाएर विज्ञान, गणित, अङ्ग्रेजी र ऐच्छिक गणित पढाउने गरेको प्रअ पन्थीले बताए । एसईईका विद्यार्थी पठनपाठनमा व्यस्त हुने र साना बालबालिका हिउँमा खेल्दै पढ्ने गरेको उनको भनाइ छ ।

    आवासीय विद्यालय भएकाले समय व्यवस्थापनमा समस्या नभएको उनले बताए । पालिकाले रु ५० लाख वार्षिक बजेट छुट्याएर विद्यालयलाई सहयोग गर्दै आइरहेको छ । आवासीय विद्यालय भएकाले प्रतिविद्यार्थी रु एक हजार पाँच सय मासिक शुल्क भने लिने गरेको उनले बताए । यसका अतिरिक्त १२ जना विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराएको विद्यालयले जनाएको छ । सञ्चालनमा नआएका विद्यालयका शिक्षकलाई काजमा ल्याएर पठनपाठन गरिरहेको पन्थीले जानकारी दिए ।

    मनाङका अन्य विद्यालय फागुन १५ पछि मात्रै खुल्नेछन् भने नार्पाभूमि गाउँपालिकाका विद्यार्थीको पठनपाठन काठमाडौँ सञ्चालन भइरहेको छ । वार्षिक परीक्षा सकाएर नतिजा प्रकाशन गरी नयाँ शैक्षिकसत्रका लागि वैशाखमा सञ्चालन गरिने नार्पाभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनीषा विकले जानकारी दिइन् ।

    उनले भनिन्, ‘एक त विकट छ । सदरमुकामबाटै जान दुई दिन लाग्छ । सडक सञ्जाल पुगेको छैन भने अर्कोतर्फ यहाँ अहिले बाक्लो हिउँ छ । चिसो अत्यधिक भएकाले गाउँ फर्किने अवस्था छैन । त्यसैले यहीँ चालु शैक्षिकसत्र सकाएर मात्रै फर्कन्छौँ । यसले विद्यार्थीलाई पनि सहज भएको छ ।’

    गौरीशङ्कर मावि कक्षा ७ मा अध्ययनरत विद्यार्थी छुपी गुरुङ हिउँसँग खेल्दै पढ्न पाउँदा खुसी लागेको बताउँछन् । उनले भने, ‘हिउँ परे पनि रमाइलो गरी खेल्दै पढ्न पाएका छौँ ।’

    मौसम चिसो भए पनि हिउँ खेल्दै पढ्न पाएको कक्षा ८ मा अध्ययनरत विवेक गुरुङले बताए । ढिलागरी परेको हिमपातले चिसो बढे पनि विद्यार्थी शिक्षाबाट प्रभावित हुन नदिने गरी विद्यालयमा पठनपाठन भने सञ्चालन गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार